बागमतीका ११ जिल्लामा ब्लड बैंक रेफ्रिजेरेटर वितरण

Date:

Share post:

Changunarayan Nagarpalika

मकवानपुर, २९ जेठ । बागमती प्रदेश सरकारले प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर सुधार र सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि गर्ने उद्देश्यले ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर उपलब्ध गराएको छ । स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडामार्फत वितरण गरिएको उपकरणले जिल्लास्तरमा रक्तसञ्चार सेवाको पहुँच र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ ।

बिहीबार स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा ११ वटा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । रक्तसञ्चार सेवा सञ्चालन भइरहेका सिन्धुपाल्चोक र रसुवाबाहेक बागमती प्रदेशका अन्य ११ जिल्लामा उपकरण वितरण गरिएको हो ।
प्रदेश सरकारले उपकरण खरिदका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको थियो । प्रतियुनिट दुई लाख ७५ हजार पाँच सय ५५ रुपैयाँका दरले कुल ३१ लाख रुपैयाँमा खरिद सम्झौता गरिएको स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ मा निःशुल्क रक्तसञ्चार सेवा कार्यक्रमअन्तर्गत ब्लड बैंक रेफ्रिजेरेटर खरिदका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

हस्तान्तरण गरिएका रेफ्रिजेरेटरहरू २२० लिटर क्षमताका छन् । एउटा रेफ्रिजेरेटरमा करिब १५० वटा ब्लड ब्याग सुरक्षित रूपमा भण्डारण गर्न सकिने प्राविधिक जानकारी दिइएको छ। उपकरणमा थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट प्रणाली, तापक्रम निगरानी प्रणाली तथा डाटा लगरजस्ता आधुनिक प्रविधि जडान गरिएको छ । स्वास्थ्य आपूर्ति केन्द्रका अनुसार यी उपकरणले रगतको गुणस्तर कायम राख्न, तापक्रम नियन्त्रण गर्न तथा आकस्मिक अवस्थाका लागि आवश्यक रक्त भण्डारण व्यवस्थापन गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने छ।

प्रदेश सरकारको यो पहलले जिल्लास्तरका ब्लड बैंकहरूको भण्डारण क्षमता बढ्नुका साथै रक्तसञ्चार सेवाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ। विशेषगरी दुर्घटना, शल्यक्रिया, प्रसूति तथा अन्य आकस्मिक उपचारका क्रममा आवश्यक पर्ने रगत सुरक्षित रूपमा उपलब्ध गराउन नयाँ उपकरण उपयोगी हुने विश्वास गरिएको छ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले रेडक्रसलाई उपलब्ध गराइएको रेफ्रिजेरेटर सहयोग मानव सेवाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले द्वन्द्वकालदेखि प्राकृतिक विपतसम्म नेपाल रेडक्रसले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै रक्तसञ्चार सेवाको प्रभावकारिता अझ सुदृढ बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। ‘रगत भण्डारण अत्यन्त संवेदनशील विषय हो। यसको सुरक्षित व्यवस्थापनका लागि प्राविधिक दक्षता, सतर्कता र निरन्तर निगरानी आवश्यक हुन्छ,’ उनले भने, ‘आपूर्ति प्रणालीमा अवरोध हुँदा समयमै वैकल्पिक व्यवस्था गर्न नसके ठुलो परिमाणमा रगत नष्ट हुन सक्छ, जसले बिरामीको जीवन नै जोखिममा पार्न सक्छ।’ उनले ब्लड म्याचिङ प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यक व्यवस्था गरिने जानकारी पनि दिए।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्यमन्त्री थापाले सुरक्षित रगत भण्डारण र रक्तसञ्चार सेवाको दिगोपन सुनिश्चित गर्न प्रदेश सरकारले रेफ्रिजेरेटर सहयोग उपलब्ध गराएको बताए। रेडक्रसद्वारा सञ्चालित ब्लड बैंकहरूले प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै उनले यसले सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। ‘ब्लड बैंकहरूले लिने सेवा शुल्क प्रदेश सरकारले व्यहोर्दै आएकाले नागरिकले निःशुल्क रूपमा रगत प्राप्त गर्ने वातावरण बनेको छ,’ मन्त्री थापाले भने, ‘आगामी दिनमा पनि रेडक्रससँग सहकार्यलाई अझ विस्तार गर्दै स्वास्थ्य सेवाको सुदृढीकरणमा मन्त्रालय सक्रिय रहनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

अदालतको लेटरप्याड र आधिकारिक दस्तखत किर्ते गर्ने पक्राउ

काठमाडौं, २९ जेठ । काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत कीर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना...

काभ्रेपलान्चोकको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ७ जनाको मृत्यु

काभ्रेपलान्चोक, २९ जेठ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी ७...

सूर्यविनायक-२ मा सार्वजनिक सुनुवाई सम्पन्न

भक्तपुर, २९ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा...

वृद्धलाई कैंची प्रहार गर्ने पक्राउ

काठमाडौं, २८ जेठ । वृद्धलाई कैंची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ नारायणथानका...