भक्तपुर, ९ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय सञ्चाल केन्द्र (एनएमसी)नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा नगरपालिकाको वडा नं. ३ स्थित शहरी स्वास्थ्य केन्द्र झौखेलमा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले नेतृत्व गरेपछिको ९ वर्षे कार्यकालमा पुर्वाधार विकास निर्माण, सामाजिक विकास, विपद् व्यवस्थापन, शैक्षिक, प्रशासनिक सेवा सञ्चालन र प्रभावकारिता, स्वास्थ्य, पर्यावरणीय तथा भइरहेका प्रयासहरू बारेमा छलफल भएको छ ।
स्थानीय जनप्रतिनिधि र कर्मचारी प्रशासन जनताप्रति हुनुपर्ने पारदर्शीता, जवाफदेहिता र सुशासन पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै कार्यक्रममा नागरिकको अनुभव, सुझाव, अनुभव आदानप्रदान, समस्या तथा समाधानका उपाय तथा भावी रणनीतिको बारेमा चर्चा गरिएको छ । केही स्थानीयबासिन्दाले आलोचना गरेपनि नागरिकस्तरबाटै समाधानमुखी सुझाव तथा सहभागितामूलक सोचको विकास र विकासको दिगोपना हुनुपर्नेमा जोड दिइएका छन् । जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच सहकार्य आवश्यक रहेको औंल्याउँदै जुनसुकै विकास र समृद्धिको कार्यहरुमा सक्रिय सहभागिता, रचनात्मक प्रश्न तथा सुझावले स्थानीय तहलाई कार्यसम्पादन गर्न सहज र परिस्कृत हुने जनाएको छ ।
नागरिकका अनुभव, समस्या, सुझाव तथा जिज्ञासाहरुलाई प्रत्यक्ष रुपमा समेटेको उक्त कार्यक्रमले जनप्रतिनिधि र जनताको उत्तरदायित्व बनाउन विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको जनाएको छ । कार्यक्रमलाई औपचारिक मात्र बनाउने नभई लोकतान्त्रिक अभ्यास र जवाफदेही बनाउने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा समस्या देखाउनेमात्र नभई समाधान खोज्ने मार्गचित्रको रुपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा सचिव प्रेम तुल्सीले कार्यालयको वस्तुस्थितीको जानकारी गराएका छन् । पछिल्लोपटक केन्द्रीय सरकारले वर्षौंदेखि काम गर्दै आएका अस्थायी/करार कर्मचारीलाई हटाउँदा समस्या आएको उनी बताउँछन् ।
कार्यक्रममा वडा सदस्य विष्णु प्रसाद न्यौपानेले वडाको परिचयसहित स्थानीय सम्पदा, पेशा/व्यवसाय, विकास र पूर्वाधारको अवस्था, जनसाङ्ख्यिक विवरण, संस्कृति र जीवनशैली, चाडपर्व, समस्या र चुनौती उल्लेखित प्रतिवेदन नै प्रस्तुत गरेका छन् । वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो नौ वर्षे कार्यकालसम्म आइपुग्दा निर्वाचनका क्रममा जनताका बिचमा गरेका प्रतिबद्धतामध्ये ९० प्रतिशत काम सम्पन्न गरेको बताएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, महिला तथा युवा सशत्तीकरण तथा सामाजिक क्षेत्रमा जनमैत्री कार्यहरु गरेको उल्लेख गर्दै वडा नं. ३ को काम प्रशंसनीय रहेको अन्य वडाबासीले समेत भनेको उनी बताउँछन् । ‘स्थानीय तह निर्वाचन २०७४ देखि नै प्रत्येकदिन वडामा निर्वाचित पदाधिकारीहरु बसेर छलफल, समिक्षा गर्ने गरेकाछौं,’ उनले भने, ‘कमीकमजोरीलाई सच्याउने, गुनासो सम्बोधन गर्ने गर्छौं ।’
कार्यक्रममा सहभागी स्थानीयबासी/नागरिकले विकास निर्माण, लक्षित कार्यक्रमको प्रभावकारिता, आधुनिक तरकारी खेती (टनेल खेती) मा विषादी प्रयोगले स्थानीयबासिन्दालाई परेको असर, डिपबोरिङ्ग गरेर वितरण गर्ने पानी शुद्धता, बस्ती विकाससँगै निम्तिएको ढल व्यवस्थापन अभाव, सरसफाइ, सडकबत्ती निर्माणलगायतको विषयमा प्रश्न तथा गुनासो गरेका छन् ।
त्यसैगरी, ढल तथा सडक छेउमा पानीको नाली बनाउनुपर्ने, सडक बत्तीको समस्या समाधान गर्नुपर्ने, प्रत्येक स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्थापन गर्नुपर्ने, पूर्वाधारको विकास गर्नुपर्ने, विपद व्यवस्थापनका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनुपर्ने, पार्क तथा खुल्ला क्षेत्रको विकास र विस्तार गर्नुपर्ने, वर्षौंअघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकका लागि वडा कार्यालयले जग्गा उपलब्ध गराउँदा समेत अझै अस्पताल बन्नमा ढिलाइ भईरहेको बारे स्थानीयले प्रश्न गरेका छन् भने, समयमा अस्पताल नबन्ने हो भने जग्गा फिर्ता हुनुपर्ने माग गरेका छन् । कार्यक्रममा लक्षित वर्गमा गरिएका कार्यक्रम तथा तालिमबाट दैनिक जीवनमा प्रयोग तथा आत्मनिर्भरता बनाउनुपर्ने, महिला लक्षित कार्यक्रम पुरानो ढर्राका भएकाले प्रविधिमैत्री बनाउनुपर्ने, बजेट फिर्ता पठाई विगतको जस्तो गल्ती गर्नु नहुने, फोहोर संकलन तथा उचित व्यवस्थापन गर्नुपर्ने, खानेपानीको व्यवस्थापन भए पनि खानयोग्य नभएकाले फिल्टर गरी धारामा पठाउनुपर्ने, घरनक्सा, सडक, तथा अन्य पूर्वाधार विकासको मापदण्ड एकै प्रकारको हुनुपर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, इटाभट्टालाई माटो खन्ने र ओसारपसार गर्दा बस्ती धुलाम्य भएको, जथाभावी जग्गा प्लानिङ्गले बस्तीलाई असर पुगेको र त्यसलाई व्यवस्थित गर्नुपर्नेलगायतका माग तथा सुझावहरु दिएका छन् । कार्यक्रममा १८ जना स्थानीयबासीले प्रश्न तथा सुझाव दिएका छन् ।
वडासदस्यहरु शिवराम सुलु, रमा थापाले नागरिकको प्रश्न/सुझावलाई सम्बोधन गरेका छन् । वडासदस्य रमा थापाले प्रश्नको जवाफ दिँदै संघसंस्थालाई आह्वान गरेरै लक्षित कार्यक्रम गर्ने गरेको र वडामा वर्षमा १८० जना स्थानीयलाई लक्षित कार्यक्रम अन्तगर्त तालिम दिँदै आएको बताइन् । ‘वडाले ब्यूटि पार्लर, मण्टेश्वरी, ड्राइभिङ, चोयाको सामग्री, कफि वारिस्ता, बेकरी, मकैको खोस्टाबाट हस्तकला सामग्री बनाउने, मखमल ढाकाको जुत्ता, झोल साबुन/सर्फ बनाउने तालिमको दिएकाछौं,’ उनले भनिन्, ‘बेसिक र एडभान्स तालिम दिएर व्यवसायी उत्पादन गरेकाछौं ।’
प्रश्न तथा सुझावको जवाफ दिँदै वडाध्यक्ष धिमालले भौतिक पूर्वाधार विकास र सडक व्यवस्थित तथा परिणामूखी बनाउने कार्य भईरहेको बताए । त्यस्तै, फुटपाथ र हरियाली सहितका ठूला पक्की सडक, भित्री सडकको स्तरोन्नति र खानेपानी योजना, खुल्ला व्यायामशाला, उज्यालो वडा पुरातात्त्विक फल्चा निर्माण, मठमन्दिर निर्माण तथा मर्मत, नागरिकको नि:शुल्क स्वास्थ्य बिमा, शहरी स्वास्थ्य क्लिनिक ल्यावसहित संचालन गरि नेपाल सरकारले स्वास्थ्य सेवाको २ वटा केन्द्रबाट नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा दिईरहेको बताएका छन् । नि:शुल्क पशु बिमा, टनेल खेती, पशुपालन अनुदान, विभिन्न सिपमूलक तालिम, संस्कृतिलाई जगेर्ना गर्न धिमे समूहहरू सांस्कृतिक तालिम लगायत नेपाल र बिस्केट जात्रालाई गुठी समूह मार्फत संचालन गरेको समेत उनी बताउँछन् ।
उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका सामाजिक विकास शाखाकी निला घिमिरेले नागरिकको दैनिक जीवनसँग जोडिएको विषयवस्तु उठान हुनु सकारात्मक भएको बताउँदै उपभोक्ताले समितिबाट भएको कामको निगरानी गर्ने काम नागरिकको पनि भएको बताएकी छन् । ‘नागरिक दायित्वपनि नभुलौं,’ उनले भनिन् । शान्ति सुरक्षाको सवालमा जिल्ला प्रहरी परिसरका प्रहरी निरिक्षक सुवेश अधिकारीले अपराध नियन्त्रण र अनुसन्धानको बाटोमा अहोरात्र खटिएर काम गर्दै आएको बताएका छन् । ‘भक्तपुर जिल्लामा वार्षिक १ हजार ६ सयभन्दाबढी उजुरी पर्ने गरेको छ, त्यसमध्ये करिब ५४ प्रतिशत उजुरी आर्थिक अपराध मात्रै छ,’ उनले भने ।


