काठमाडौं, २७ वैशाख । काठमाडौं महानगरपालिकाले गरिरहेको ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा २ हजार ७५ जनाको विवरण संकलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्नु पर्ने अवस्थाको भेटिएको छ । उनीहरुको अवस्था जाँच गरेपछि सर्वेक्षण टोलीले उपचार गर्न तत्काल अस्पताल पठाउन सहजीकरण गर्ने गरेको छ । सबैभन्दा जेष्ठ १०४ वर्षका छन् । वैशाख २३ गतेसम्ममा संकलित विवरण हेर्दा १ हजार ३७० जना महिला र ७०५ जना पुरुष गरी २ हजार ७५ जनाको विवरण संकलन भएको छ । उनीहरुमध्ये १ हजार ९४६ जना परिवारसँगै छन् । १०८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन बिताई रहेका छन् । आफन्त र नातेदारको आश्रयमा २१ जना रहेको महानगरले जनाएको छ ।
७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ । टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकहरुले विताइरहेको जीवन स्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले जानकारी दिए । नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहूँच वृद्धि गर्ने कार्यक्रम अन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति, बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको के. सी. को भनाइ छ ।
सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई ग्रीन, एल्लो र रेड जोनमा वर्गीकरण गरिएको छ । ग्रीन जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकहरुलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । यो जोनमा ९९५ जना छन् ।
यल्लो जोनमा रहेका बिरामीहरुलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । यो जोनमा ९७२ जना ज्येष्ठ नागरिक छन् । उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रेड जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको जनाएको छ । कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार रेड जोनमा १०८ जना ज्येष्ठ नागरिक छन् ।
श्रेष्ठका अनुसार विवरण संकलन गरिएकामध्ये १ हजार ५३२ जनामा उच्च रक्तचाप छ । ८१७ जनामा मधुमेह छ । २०४ जनालाई स्ट्रोक भएर उपचार गराइसक्नु भएको छ । ६२३ जनामा दमको समस्या छ । ६७४ जनामा मुटु रोग छ । ३५४ जनामा थाइराइड छ । ६७७ जनामा डिमेन्सिया, ११८ जनामा पारकिङसनिजम छ । १ हजार ६३६ जनामा हाडजोर्नीको समस्या छ । ६९९ जना पूर्ण रुपमा ओछ्यानमा आश्रित छन् ।
२३ जना ज्येष्ठ नागरिकलाई नाकबाट पेटसम्म (न्याजोग्याष्ट्रिक ट्युब एनजी) पाइप राखेर खाना दिने गरिएको अवस्थामा भेटिएका छन् । ५३ जनामा क्याथेटर (पिसाब फेर्न पाइप) राखिएको छ । यसरी न्याजोग्याष्ट्रिक ट्युव र क्याथेटरको राख्नु भएकालाई यी सामानको हेरचाह र सुरक्षा कसरी गर्ने भन्ने सिकाउने गरिएको छ ।
१ हजार ५ जनाको बिमा गरिएको छैन । सर्वेक्षण टोलीले उहाँहरुलाई विमामा आवद्ध गराउन सहजीकरण गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण ३५८ जनालाई औषधोपचार गर्न कठिन छ ।
सर्वेक्षणमा शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक अवस्था हेरिन्छ । उनीहरुले नियमित प्रयोग गर्ने औषधि, औषधि प्रयोग गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तन, गएको १५ दिनभित्र मन तथा सोचमा आएको परिवर्तन, खानामा रुचि, आफू बस्ने, हिँड्ने तथा अन्य सुरक्षा सम्बन्धी अवस्था, लडेको भए एक वर्षमा कति पटक लड्नु भएको छ? कसरी लडेको र यसरी लड्दा भएको चोटपटकका बारेमा विवरण संकलन गरेर लड्नबाट बच्ने उपाय सिकाउने गरिएको छ ।


