बिस्का: जात्रा सुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २७ चैत । भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्वको बिस्का: (बिस्केट) जात्रा सुरु भएको छ । चैत्र २७ देखि वैशाख ५ गते सम्म आठ रात नौ दिन धूमधाम मनाइने बिस्केट जात्रा शुक्रबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो । बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर, विद्यालय, विभिन्न संघ संस्थालगायतले आइतबार बिहान सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ ।

बिस्का जात्राको पहिलो दिन काठै-काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ । तौमढी स्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ । साथै भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिसकेपछि रथ तान्न सुरु हुन्छ ।

जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्‍याएर पुनः तौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याइने प्रचलन छ । जात्रामा रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ जात्रालुले रथलाई ‘होस्से/हैसे/हाहा’ गर्दै आफ्नोतर्फ तानेर जात्रा मनाइन्छ । जात्रामा रथ तानातान गर्दै हजारौं स्थानीयले आ–आफनो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकषर्ण हो, बिस्का जात्राको पहिलो दिनलाई द्यः क्वहाँ बिज्याइगु (देवता पृथ्वीमा आगमन हुने) भनिन्छ ।

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चर्ढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेंबासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेल स्थित ल्योसिङखेलमा उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको र्शीष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ ।

लिङ्गोको कोखामा झुण्डयाइएका र्दुइ ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवर्दुगा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्का जात्रा र्हेनाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ । बिस्का जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याइन्छ र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।

बिस्काको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसको लगतै खंला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । जसलाई नेपाल भाषामा द्यःल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा मानिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि/विधान समेत थपगरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतिकर्मीहरू बताउँछन् । यो जात्रा सर्प अथवा नागनागिनी मारियो भन्ने भावमा मनाउँदै आएको किंवदन्ती संस्कृतिविद्हरू बताउँछन् ।
बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यः(देवता) थांहां बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन बिस्केट जात्रा पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन्न हुने गर्दछ ।

पछिल्लो समय बिस्का जात्रामा रथ तानातान गर्ने क्रममा झडप हुने र जनधनको क्षति हुने भन्दै जिल्ला प्रशासन, सुरक्षा निकायलगायतको चासोको विषय बन्ने गरेको छ । भैरवको रथ तान्ने क्रममा माथिल्लो र तल्लो टोलबीच ढुङ्गा हानाहान गर्ने विकृतिले जरो गाड्दै गइरहेको छ । बिस्का जात्रा रथ तानाताना गर्ने जात्राका रूपमा लिने गरिन्छ । तर, जात्रा हरेक वर्ष साँझको समयमा सुरु हुने भएकाले रातिसम्म रथ तानातान गरिन्छ । रातको समयमा मादक पदार्थ सेवन गर्नेको जमाता उत्तिकै हुने गर्नाले सामान्य झैझडाले पनि उग्र रुप लिई झगडा हुने गरेको छ । यद्यपि वर्षदिनभरीको रिस साध्ने वा पोख्ने थलोको रुपमा समेत बिस्का जात्रालाई लिइने गरिन्छ । जात्रालाई व्यवस्थित तथा मर्यादित बनाउन भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा सुरक्षा निकाय, जात्रासँग सम्बन्धित व्यक्तिहरूको पटक-पटकको छलफलको तयारी पछि सद्भाव र्‍याली सहित जात्राको थालनी भएको छ ।

त्यसैगरी, बिस्का जात्राकै अवसरमा मध्यपुर थिमिको लायकु, बालकुमारी, चपाचो, नगदेश, बोडेलगायतमा वैशाख २ गते ३२ खटसहितको अबिर जात्रा मनाइने गरिन्छ । सोही दिन मध्यपुर थिमि बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मान्ने प्रचलन छ । जिल्लाको चारवटै नगरको विभिन्न स्थानमा खट जात्रा मनाइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...