भक्तपुर, २९ फागुन । अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडक खण्ड २ सातासम्म दैनिक ११ घन्टा सवारी साधन सञ्चालनमा रोक लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै आगामी ७ देखि २० चैतसम्म बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म बससहित चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको जनाएको छ । ७ चैतदेखि ट्रिपर, ट्रकलगायतका भारी सवारीसाधनलाई भने २४ सै घन्टा सञ्चालनमा रोक लगाइएको छ ।
यस अवधिमा सडक कालोपत्रे हुने भएकाले बन्दा गर्नु परेको डिभिजन सडक कार्यालयले जनाएको छ । लामो समय निर्माण अवरुद्ध भएको यो सडक निर्माण अहिले तीव्र बनेको छ । सडक डिभिजन भक्तपुर र सिएम/एवान/काली जेभी काठमाडौंबीच सम्झौता भई सडक निर्माण सुरु भएको थियो ।
सडक निर्माणको लागि ३१ करोड ५६ लाख रुपैयाँको सम्झौता भएको छ । यसअघिको सम्झौताअनुसार २२ महिनाभित्र सडक विस्तार सम्पन्न गर्ने गरी धुलिखेलदेखि खावासम्मको ४ दशमलव १५५ किलोमिटर सडक विस्तार गर्न सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २० जेठ २०७९ मा ठेक्का सम्झौता भएको थियो ।
उक्त निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपछि डिभिजनले १५ फागुन २०८१ मा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । ठेक्का रद्द गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत गए पनि अदालतले सडक डिभिजनको पक्षमा फैसला गरेपछि नयाँ ठेक्का लगाइएको हो ।




