भक्तपुर, १९ मंसिर । मध्यपुर थिमि नगरपालिकाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदा संरक्षण सम्वर्दन,प्रवर्द्धन गर्दै नगरलाई पर्यटकिय गन्तव्य बनाउने लक्ष्य अनुरुप नगरको सम्पदा झल्किने दुईवटा संग्रहालय बनाउने भएको छ । नगरपालिकाले नगरको ४ नम्बर वडामा अवस्थित ऐतिहासिक बालकुमारी मन्दिर परिसरमा मध्यपुर थिमिको इतिहासलाई प्रतिबिम्वत हुने किसिमका सामग्री संग्रहित गर्नेगरी संग्रहालय निर्माणमा लागेको नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उक्त संग्रहालयमा विभिन्न कालखण्डमा मध्यपुर थिमिबाट चोरी भएर हराएका धार्मिक, ऐतिहासिक, सांस्कृतिक,पुरातात्त्विक मूर्ति/काष्ठकला, लिखित दस्तावेजलगायतका सामग्रीहरूको खोजी गरि संग्रहित गर्ने नगरपालिकाको लक्ष्य छ ।
त्यसैगरी, मध्यपुर थिमि-६ बसीपुखुमा प्रजापति समुदायको पेशा,संस्कृती झल्किने किसिमको बसीपुखु संग्रहालय निर्माण गर्ने भएको छ । मध्यपुर थिमि प्रतिबिम्बित हुने र सम्पदा संरक्षणको महत्त्वलाई दर्शाउने किसिमको संग्रहालय निमार्णको कार्य अन्तिम चरणमा पुगेको मध्यपुर थिमि नगरउप-प्रमुख श्रेष्ठले बताए । ‘मध्यपुर थिमिको संस्कृति, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि संग्रहालय निर्माणकाे काम अघि बढाएका छौं’, उनले भने ।
संग्रहालय निर्माणका लागि आर्थिकवर्ष २०८०/०८१ मा स्थानिय सरकार मध्यपुर थिमि नगरपालिकावाट ३० लाख त्यस्तै ०८१/८२ मा केन्द्रीय सरकारको तर्फबाट ९० लाख रूपैयाँ र नगरपालिकाले चालुआर्थिकवर्ष ०८२/८३ मा ५८ लाख रूपैयाँ विनियोजित गरेको नगरपालिकाले जनाएको छ ।



