भक्तपुर, १६ कार्तिक । भक्तपुर नगर क्षेत्रभित्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारीसाधन एकतर्फी मात्र सञ्चालन हुने भएका छन् । शनिबारदेखि लागू हुने गरी भक्तपुर नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
भक्तपुर-४ बोलाछँदेखि राममन्दिर पुलपारिसम्म बिहान ७ देखि १ बजेसम्म र दिउँसो ३ देखि साँझ ७ बजेसम्म पुरानो नगर क्षेत्रबाट सूर्यविनायकतिर मात्र बाहिरिने व्यवस्था मिलाइएको छ । वडा नम्वर ३ बाराही पुलपारिबाट वंशगोपाल चोकसम्म बिहान ७ देखि १० बजेसम्म र दिउँसो ३ देखि साँझ ७ बजेसम्म विस्तारित नगर क्षेत्रबाट वंशगोपालतर्फ भित्रिने गरी सवारी सञ्चालन गरिनेछ ।
दुईपाङ्ग्रे सवारीसाधनलाई भने विगतमा जस्तै दुवै दिशाबाट निर्बाध आवागमन गर्न पाउने व्यवस्था यथावत् रहने नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । कार्यालय समयमा उक्त क्षेत्रमा सवारीको चाप बढी भएर आवगमनमा समस्या भएपछि सडक एकतर्फी गर्ने निर्णय गरेको प्रमुख प्रजापतिको भनाइ छ । ‘पर्यटकीय नगरी भएकाले विस्तारै नगरक्षेत्रमा सवारी अवागमनलाई व्यवस्थित गर्दै लैजानेछौं,’ उनले भने ।
यसअघि २०७२ सालको भूकम्पअघि पनि यी क्षेत्रमा चारपांग्रे सवारीसाधनलाई एकतर्फी गरिएको थियो ।नगरपालिकाले भक्तपुर दरबार क्षेत्रमा सावरी आवगमन प्रवेश निषेध गर्दै आएको छ भने पाँचतले मन्दिर परिसरमा बिहान र बेलुकी मात्रै सवारीसाधनलाई प्रवेश दिएर दिनभरका लागि प्रवेश निषेध गरिँदै आएको छ ।

