हेरिटेज नेपाल न्यूज

थाहा नगरपालिका ‘पूर्ण संस्थागत सुत्केरी’ पालिका घोषित

Date:

Share post:

मकवानपुर, ९ भदौ । मकवानपुरको थाहा नगरपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी’ नगरपालिका घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगरलगायतले आइतबार एक समारोहका बीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले शिशु तथा मातृ स्वास्थ्य सुरक्षाको लागि बागमती प्रदेशले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।

थाहा नगर पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुने बागमती प्रदेशको दोस्रो पालिका हो । यसअघि धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित भएको थियो ।

नगरपालिकाभित्रका सबै गर्भवती महिलाहरुले दक्ष स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य संस्थामै गएर सुरक्षित रुपमा प्रसुति गराउने गरेको थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले जानकारी दिए । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको उनले बताए ।

एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार चारपटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्ने लगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनेछ । त्यस्तै पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाका लागि गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुईपटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्नेलगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ ।

१२ वटा वडा रहेको थाहा नगरमा १२ वटा स्वास्थ्य संस्थाहरु छन् । थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । थाहा–६ पूर्ण संस्थागत सुत्केरी घोषणा हुने बागमती प्रदेशकै पहिलो वडा थियो । थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए । गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए ।

मकवानपुरका १० पालिका मध्ये पूर्ण संस्थागत सुत्केरी पालिका घोषित हुने थाहा नगरपालिका पहिलो पालिका हो । पूर्ण संस्थागत सुत्केरी पालिका घोषणाका लागि बागमती र इन्द्रसरोवर गाउँपालिकाले पनि प्रयास गरिरहेको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिएका छन् । थाहा नगरपालिकाले पनि २०७३ सालदेखि प्रयास गरेर आइतबार पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेको उनको भनाइ छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले मासिक बैठकका क्रममा सबै पालिकाका स्वास्थ्यकर्मीलाई समग्र स्वास्थ्य सुधारको प्रयासका लागि जानकारी गराउने गरेको प्रमुख मिजारले बताए । मकवानपुर जिल्लामा अहिले पनि वार्षिक एक सयदेखि एक सय ५० को संख्यामा गर्भवती घरमै सुत्केरी हुने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...