काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन् । देशको समृद्धि र आमनागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
बडादसैँका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आर्थिक सम्पन्नताको बाटोमा अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिरहेको बताएका छन् ।
‘आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ । आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ,’ उनले सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र गोरखालगायतका ठाउँमा भएको विनाशको शोक आलो रहँदै दसैँ आएको उल्लेख गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको पनि उनले बताएका छन् ।
दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।
उनले पछिल्लो समय गाउँका घरआँगन रित्तिँदै गएको तथा बाध्यताले विदेशिनुपरेका नेपालीले चाडपर्वमा परिवारसँग भेटघाट गर्न नपाएको यथार्थप्रति पनि ध्यानाकर्षण गराएका छन् । ‘पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ,’ उनले भनेका छन् ।
दसैँ असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले काम, क्रोध, लोभ, ईर्ष्या र अहंकारमाथि विजय प्राप्त गर्न सबैलाई शुभकामना दिएका छन् । उनले सत्य र सुशासनको बाटोमा अघि बढ्न माता दुर्गाभवानीको प्रेरणा र कृपा सबैमा रहोस् भन्ने कामनासमेत गरेका छन् ।







