भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य, बज्राचार्य तथा सरोकारवाला निकायको पहलमा मल्लकालीन सांस्कृतिक परम्परालाई पुनः निरन्तरता दिन लागिएको संस्कृतिप्रेमी आदित्य बज्राचार्यले जानकारी दिए।
मध्यपुर थिमि चपाच्वकी चार वर्षीया आयुषी बज्राचार्य यस वर्ष जीवित देवी कुमारीका रूपमा नियुक्ति भएकी छन् । उनलाई यस वर्षको बडादसैँअन्तर्गत (मोहनि नखः चालं) विजया दशमीका दिन थिमि लायकू परिसरमा सर्वसाधारणका लागि दर्शन गराउने तयारी गरिएको छ। कुमारी दर्शनको परम्परालाई पुनरुत्थान गर्ने उद्देश्यले लायकू पःमां, कर्माचार्य तथा बज्राचार्यहरूबीच छलफलसमेत भएको छ। यस पहलले मध्यपुर थिमिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
मल्लकालीन दरबार रहेका स्थानमा तुलेजु भवानीको प्रतीकका रूपमा जीवित देवी कुमारी रहने परम्परा प्रचलित छ । इतिहासमा उल्लेख भएअनुसार तत्कालीन सिम्रौनगढका राजा हरिसिंहदेवमार्फत तुलजा भवानीलाई नेपालमण्डलमा ल्याइएको मानिन्छ। त्यसपछि तुलजा भवानी मल्ल राजाहरूकी आराध्य देवीका रूपमा प्रतिष्ठित भयो । तुलजा भवानीको आराधनाका लागि मल्लकालीन दरबार परिसरमा तलेजु मन्दिर स्थापना गर्ने परम्परा विकास भएको देखिन्छ। तलेजु भवानीकै प्रतीकका रूपमा कुमारी माजुलाई पूजाआराधना गर्ने धार्मिक मान्यता छ।
मध्यपुर थिमिमा पनि मल्लकालीन दरबार रहेकाले यहाँ जीवित देवी कुमारीको परम्परा कायम रहेको बताइन्छ। हाल मध्यपुर थिमिमा चार वर्षीया आयुषी बज्राचार्य जीवित देवी कुमारीका रूपमा बहाल छिन् । यसअघि मध्यपुर थिमि-५ स्थित हात्तिमहांकालको याचिं बहाःबाट छ वर्षीया एब्रिना बज्राचार्य थिमि कुमारीका रूपमा नियुक्त भएकी थिइन् ।
थिमि कुमारी नियुक्त गर्ने परम्पराअनुसार भक्तपुर नगरस्थित प्रशन्नशील महाबिहारबाट निश्चित मापदण्ड पूरा गरी कुमारी चयन गर्ने गरिन्छ। यसरी जीवित देवी कुमारीको दर्शन गराउने परम्परालाई पुनरुत्थान गर्न लागिएको पहलले मध्यपुर थिमिको मौलिक संस्कृति र ऐतिहासिक पहिचानलाई नयाँ पुस्तामाझ परिचित गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
तस्बिर : केके मानन्धरको फेसबुकबाट ।







