भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आईसीयू) संचालनमा आएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बिहीबार अस्पतालमा आयोजित एक समारोहबीच मोडुलर आईसीयूको उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधनगर्दै श्रेष्ठले आफू निर्वाचित भएर आएदेखि नै अस्पतालमा सेवा लिन आउने बिरामीले गुणस्तरीय सेवा पाउन भन्ने उद्देश्यले काम गरिरहेको बताए । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मुलुककै नगरपालिकाबाट सञ्चालित सबैभन्दा सुविधासम्पन्न अस्पताल बनेको उल्लेखगर्दै नगर प्रमुख श्रेष्ठले यो अस्पताल बिमा क्लेम गर्ने पाँचौं ठुले अस्पताल बन्नु आफैमा गौरवको कुरा भएको बताएका छन्।
सेवा सुविधामा वृद्धि र सेवामा गुणस्तरीयताकै कारण अस्पतालमा बर्सेनि बिरामी बढ्ने क्रममा रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ। बिरामीको गुनासो समाधानमा अस्पताल प्रशासन लाग्नु पर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिएका छन् । नयाँ भवन सम्पन्न हुने क्रममा रहेको र त्यो सम्पन्न भएपछि बिरामीले धेरै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख श्रेष्ठको भनाई छ।
अस्पतालले प्रोटेबल अल्ट्रासाउन्ड मेसिन समेत खरिद गरेर वडा वडामा सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पताल भित्रमा पर्न सफल भएको नगर प्रमुख श्रेष्ठले बताए । उनका अनुसार, चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरिएको छ। अव छिटै कार्डियो सेवा समेत शुरू गर्ने तयारी भइरहेको जानकारी दिदै नगर प्रमुख श्रेष्ठले मुटुका बिरामीलाई लक्षित गरेर ए ग्रेडको एम्बुलेन्स समेत खरिद गर्न लागिएको बताए।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख विजयकृष्ण श्रेष्ठले अत्याधुनिक आइसियु निर्माण भएसँगै बिरामीले आइसियु नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । यो अस्पताललाई विशिष्टिकृत अस्पतालकारूपमा विकास गरिरहेको बताउँदै उप प्रमुख श्रेष्ठले चार वर्ष अघि सम्म घाटामा रहेको अस्पताल पछिल्लो समय सेवा सुविधा विस्तार गरेसँगै नाफा कमाउन सफल भएको बताए।
कार्यक्रममा अस्पताल सञ्चालक हरिदास प्रजापतिले केही वर्षको अवधिमा अस्पतालले उल्लेख्य प्रगति गरेको बताउँदै उच्च मनोवलका साथ सेवा दिनुपर्ने बताएका छन्। देशैभरीका बिरामी उपचारका लागि आउने अस्पतालले दैनिक १२ सयका हाराहारीमा उपचार गर्दै आएको प्रजापतिको भनाई छ ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रोशनले यसवर्ष अस्पतालले विकास तथा उन्नतिको वर्ष घोषणा गरिएको जानकारी दिए । सानो हेल्थपोष्टबाट २७ वर्ष अघि सुरू भएको अस्पतालले पछिल्लो चार वर्षमा अस्पतालले ठुलो फड्को मारेको बताउँदै डा. रौशनले यसै अवधिमा सिटी स्क्यान, ब्लड बैंक, डाइलासिस सेवा शुरु गरिएको बताएका छन् । नगरपालिका, प्रदेश सरकारदेखि केन्द्र सरकारले समेत अस्पतालको विकासमा सहयोग गरेको उनको भनाई छ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर प्रमुख अन्जना खड्काले अस्पतालमा उदाहरणीय सेवा विस्तार भइराखेको बताउँदै आइसियु सेवा जिल्लामा कम भएका कारण अन्यत्र जानुपर्ने बाध्यता यसबाट हट्ने बताइन्। स्थानीयले कम शुल्कमा गुणस्तरीय सेवा पाउने खड्काको भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नगर प्रवक्ता कृष्णहरी आचार्य लगायतका सबै वडाध्यक्षको उपस्थिति रहेको थियो







