भक्तपुर, १० असार । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब २६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २०औँ नगरसभाको अधिवेशनमा बुधबार नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् १ अर्ब २९ करोड १४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु खर्चतर्फ ४२ दशमलव ८५ प्रतिशत अर्थात् ९६ करोड ८५ लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ । यसअघि मंगलबार सम्पन्न नगरसभामा नगर प्रमुख बासुदेव थापाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको थियो ।नगरपालिकाले आगामी बजेटका प्रमुख उद्देश्यका रूपमा गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्दै सीपमूलक तथा प्राविधिक शिक्षाको विकास, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा भरपर्दो, सुरक्षित र प्रभावकारी सूचना प्रणालीको विकास, विस्तार र उपयोगलाई अघि सारेको छ ।
नगरले आगामी आर्थिक वर्षका लागि पाँच प्रमुख प्राथमिकता निर्धारण गरेको छ । जसअन्तर्गत शहरी पूर्वाधार विस्तार, गुणस्तर सुधार तथा नगर सौन्दर्य प्रवर्द्धन, आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण र विस्तार, सामुदायिक शिक्षाको पूर्वाधार विकास तथा गुणस्तर अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना र सूचना प्रविधिको व्यापक विस्तारमार्फत संस्थागत सुशासन प्रवर्द्धन रहेका छन् । त्यसैगरी, स्वास्थ्य, शिक्षा र खानेपानीलगायत सामाजिक क्षेत्रको सुदृढीकरण, उद्यमशीलता र स्वरोजगार अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक सम्भावनाको उपयोग, दिगो तथा व्यवस्थित शहरी पूर्वाधार विकास र आधुनिक सूचना प्रणालीको विकासलाई नगरपालिकाले रुपान्तरणकारी क्षेत्रका रूपमा अघि सारेको छ ।
उपप्रमुख भट्टराईले चालु आर्थिक वर्ष २०८२/०८३ को संशोधित अनुमानअनुसार संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानीसमेत गरी कुल आय २ अर्ब २८ करोड २० लाख ७६ हजार रुपैयाँ रहने जानकारी दिइन् । हालसम्म कुल संशोधित अनुमानको ५२ दशमलव ०८ प्रतिशत अर्थात् १ अर्ब ८ करोड ७२ लाख ७५ हजार १३९ रुपैयाँ खर्च भइसकेको उनले बताइन् ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, समपूरक तथा सशर्त अनुदानमार्फत ६९ करोड ३१ हजार ३१६ रुपैयाँ र प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, समपूरक, सशर्त तथा विशेष अनुदानमार्फत ५९ करोड ६० लाख ९७ हजार ७०८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । साथै, आन्तरिक स्रोतबाट ९७ करोड ३८ लाख ७० हजार ९७५ रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । बजेटले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र नगर विकासलाई गति दिने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।




