काठमाडौं, ०५ असार । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो नेपालमा मनसुन भित्रिएको हो । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही भूभागमा मात्र मनसुन सक्रिय देखिएको छ । यस पटक मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी भित्रिएको हो । नेपालको पूर्वी भू-भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो । मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने पनि महाशाखाले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुन्जन्य विपद्बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ । जसमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला प्रभावित हुने आकलन गरिएको छ भने प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना छ ।
प्राधिकरणले बुधबार सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशवासी प्रभावित हुनेछन् । लुम्बिनीका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या र सबैभन्दा कम कर्णाली प्रदेशका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुनेछन् ।
यसैगरी, बागमतीका ७४ हजार ९१४ घरधुरीका ३ लाख २७ हजार ३७६ जनसंख्या, गण्डकीका ६५ हजार ६९९ घरधुरीका २ लाख ८७ हजार १०७ जनसंख्या, कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जनसंख्या, मधेशका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ जनसंख्या, सुदूरपश्चिमका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।


