भक्तपुर, २७ वैशाख । ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता-२०८३’ को उपाधि पाण्डुबजार एफसीले हासिल गरेको छ । सूर्यविनायक नगरपालिकाद्दारा आयोजित प्रतियोगिता शनिबार सम्पन्न भएको हो । शनिबारको फाइनल खेलमा हेल्दी फुटसललाई ट्राइब्रेकरमा २-१ गोलअन्तरले पराजित गर्दै पाण्डुबजार एफसी च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । प्रतियोगितामा भविष्य फाउन्डेसनले सूर्यविनायक-१ लाई ६-२ गोलले हराउँदै तेस्रो स्थान हासिल गर्यो भने सूर्यविनायक-१ सान्त्वनामा सीमित बन्यो ।
प्रतियोगिताको विजेता टोली पाण्डुबजार एफसीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता टोलीले ३० हजार, तेस्रो हुने टोलीले २० हजार तथा सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गरेका छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी निर्विक थापा, उत्कृष्ट गोलकिपर सबिन जोशी श्रेष्ठ तथा सर्वाधिक गोलकर्ता विवेक कवाङ घोषित भए । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाले शिल्ड, पदक तथा नगद पुरस्कार वितरण गरेका थिए । सो अवसरमा राष्ट्रिय फुटसल खेलाडी अन्जली मचामसीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालिकामा खेलकुद विकास समिति गठन भएपछि खेलकुद गतिविधि बढेको बताए । आगामी वर्ष विभिन्न खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गरी खेलकुद क्षेत्रलाई थप सक्रिय बनाइने उनले बताए ।
सूर्यविनायक नगरपालिका र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सूर्यविनायक-८ स्थित हेल्दी फुटसलमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न क्लबका २५ टोलीको सहभागिता रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिए । समापन कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानोकाजी कायस्थ, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।


