काठमाडौं, १७ पुस । जेन-जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकलाई स्थान हद फुकुवा गरेको छ । भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व माननीय गृह मन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने भन्दै असोज १२ मा निर्णय गरेको थियो । लेखकको बयान सकिसकेकोले बिहीबार आयोगले स्थान हद फुकुवा गरेको हो ।
आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो ।
यसैबीच २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिएका हुन् ।
आयोगले लेखकसँग सोमबार र बुधबार दुई दिन बयान लिएको थियो । अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी छ । ओलीलाई करिब एक साताको अवधि दिएर बयानमा बोलाउने योजना छ । उनका लागि प्रश्नपत्र पनि तयार भइसकेको आयोगले जनाएको छ ।



