हेरिटेज नेपाल न्यूज

नवदुर्गा देवगणको ऐतिहासिक पदयात्रा सम्पन्न: मध्यपुर थिमिमा एक हप्ते अनुष्ठानपछि भक्तपुर फिर्ती

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २५ मंसिर । भक्तपुरको ऐतिहासिक तथा तान्त्रिक महत्त्व बोकेको नवदुर्गा देवगणको मध्यपुर थिमिमा जारी रहेको एक साता लामो नाच प्रदर्शन सम्पन्न भएको छ। परम्परागत कठोरता कायम राख्दै देवगणहरू २४ गते (बिहीबार) राती ङालाकेगु जात्रा सम्पन्न गरेर पैदलै भक्तपुर फर्किएका छन् ।
नवदुर्गा देवगणको यात्रा दिगुटोलबाट औपचारिक स्वागत तथा पुजाआजासहित शुरु भएको थियो, जहाँ नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा अध्यक्षहरूले दैवत्वको सम्मान गरेका छन् एक साताको बसाइका क्रममा देवगणहरूले मध्यपुर थिमिको चपाचो, नगदेश, बोडे, दथुटोल र बालकुमारीस्थित द्य छें (देवघर,बालकुमारी मन्दिर पछाडिको कलात्मक सत्तल)मा निवास गरी नगरपालिकाका अन्य क्षेत्रहरूमा पनि नाच प्रदर्शन गरिएको थियो त्यस्तै चोदे,तछुटोलमा द्य ब्वकेगु (विशेष पुजा) गरिएको छ ।
​जात्राको अन्तिम दिन श्वेत भैरवले प्रचण्ड नाच प्रस्तुत गर्दै ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) सम्पन्न गरेपछि बालकुमारी प्राङ्गणमा आरती गरी औपचारिक रूपमा थिमि बसाइको समापन गरिएको थियो । जसको अवलोकनका लागि स्थानियबासिन्दाको भिड लागेको थियो । धार्मिक आस्थाले भरिएको यो नाच दर्शन मात्र गर्नाले पुण्य प्राप्त हुने सुख शान्ति,सुव्यवस्था,स्वास्थ्य लाभ हुने जनविश्वास छ ।
भक्तपुर नगरका २१ स्थानलगायत मध्यपुर थिमी, काठमाडौं बागेश्वरी, बनेपा, पनौती, साँखु, साँगा, श्रीखण्डपुर, टोखा, नालालगायत स्थानमा प्रदर्शन गरिन्छ ।
मुख्यतया नवदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ जसमध्ये १३ जना विभिन्न देवीदेवता हुन्छन् । नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः भनिन्छ, जुन महालक्ष्मीको प्रतीक हो । नवदुर्गा देवगणमा भैरव (कालभैरव) एक, महाकाली एक, बाराही एक, ब्रम्हायणी एक, महेश्वरी एक, कुमारी एक, वैष्णवी एक, इन्द्रायणी एक, गणेश एक, महादेव एक, श्वेतभैरव एक, सिम्ह दुम्ह (नन्दी भृंगी) दुई गरी १३ वटा मुकुण्डोसहित नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, ताः बाजा, कायँःबाजा, महापात्र र नकीं गरी १९ जनाको समूह हुन्छ । त्यसमा अन्य सहयोगीसमेत थप हुन्छ ।
विषेशगरी यो नाचमा धान रोपाइँ नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरवको गा त्वःकेगु (खास्टो लुट्ने) नाच, खास्टो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेत भैरबको पेट दुख्ने नाचः (प्वाः स्याकिगु), समापन नाच समावेश गरिएको हुन्छ । यी नाचहरु प्रदर्शन गर्दा गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, कृषि कर्म, वैवाहिक कर्म, दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार, नारी शक्ति, महिलाको शृंगार, केटाकेटीको चकचके र जिद्धीपना, माया प्रेम र हर्षोल्लासका भाव प्रस्तुत गरिन्छ ।

करीब ६ महिना नियमित रुपमा सञ्चालन गरिने यो नाच तान्त्रिक विधि मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कार रहेको भावप्रधान नाच हो जसमा बोलेरभन्दा पनि निश्चित भाव संकेतद्वारा संवाद प्रस्तुत गरिन्छ । विषेशतः यो नाचले मल्लकालीन समयको संयुक्त परिवारलाई इंगित गर्ने इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।
‘नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ । घरमूली (नंकी)को दायित्व र महत्वसँगै उनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा नकींले १८ जना गण सदस्यलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निष्काशन गर्ने सम्मको भूमिका निभाइन्छ,’उनले भने, ‘यस अर्थमा नेवार समुदायमा र संस्कारमा नंकी अर्थात महिला प्रधान भन्ने सन्देश पनि यसबाट पाइन्छ ।’
ङालाकेगु जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने भावना, ठूलालाई गरिने आदर सत्कार, सानालाई गर्ने माया, समाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन जस्ता पक्षलाई उतारेको पाइन्छ । यस्तो कठोर नियमलाई पालना गर्दै वनमाला समुदायले आजसम्म यसलाई जीवन्त राखेको छ । भक्तपुरमा प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण र उत्साह उमंग छाएको पाइन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइको सामना गर्नुपर्छ । जस्तै घण्टाकर्ण चतुर्दशीमा उत्पत्ति हुने नवदुर्गा भगस्थीको दिन जलमा प्रवेश गरी समापन गरिन्छ । नेवार समुदायमा वर्षदिनका चाड घण्टाकर्णदेखि शुरु हुन्छ भने सिथी नखःमा समापन हुन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप शुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट ग्रसित हुने ब्रिजेश वनमाला बताउँछन् ।

नवदुर्गाको गणनाचबारे प्रचलित किंवदन्तीअनुसार भक्तपुर नगरको पूर्वमा रहेको ब्रम्हायणी मन्दिरबाट नवदुर्गा गण प्रकट भई नाच्ने र सो क्षेत्रको जंगलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसको भोगबलि लिने कारण जनजीवन भयावह बन्यो । एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो जाँदै गर्दा नवदुर्गाले भोगबलि लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै देवगणको दर्शन गरी पूजा गर्न पाऊँ भनी बिन्तीभाव गर्दा देवगणले मानेपछि आचाजुले आफ्नो तन्त्रले सबै देवतालाई तानेर कलाली (नेवार समुदाय पूजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई आफ्नै घरमा लगेछ । आचाजु भएसम्म नित्य पूजा भयो तर उनको मृत्युपछि पूजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा मानिसको भोगबलि लिन थाले ।
एक दिन सोमराज नाम गरेका एकजना ब्राह्मणले आचाजुको घरको अवस्था देखेर उनले खोजीनिती गर्दा एउटा कोठामा कलाली भेटाएछ । उनले पनि तान्त्रिक मन्त्रद्वारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर घर लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित रुपमा पूजापाठ गर्न थाले । एकदिन ब्राम्हण स्नान गर्न गएको बेलामा उनको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेरे र सोही बेला देवगण लोप भएर त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुँगुरको भोगबलि लिइरहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुनः फर्कन आग्रह गरे । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनुपर्छ भनी उनले सबै गण समावेश भएको गणखा (वनमाला समुदाय) लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किंवदन्ती छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...