भक्तपुर, २४ मंसिर । नेपाल कोरिया मैत्री नगर अस्पताल निरीक्षणका लागि कोरियाली प्रतिनिधिमण्डल मध्यपुर थिमि आइपुगेको छ ।आइतबार आइपुगेको दक्षिण कोरिया सरकार, सामसुङ्ग अस्पताल कोरिया (अस्पताल निर्माण तथा व्यवस्थापन सम्बद्ध संस्था) र कोइकाको प्रतिनिधिमण्डलले निर्माणाधीन अस्पताल भवन निरीक्षण, भविष्यमा नयाँ भवनबाट विस्तार गरिने सेवा-सुविधा, आवश्यक पर्ने उपकरणको पहिचान, अस्पतालका कर्मचारी तथा प्राविधिकलाई तालिम प्रदान गर्ने मध्यपुर थिमी नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए । जे-ह्युन काङ (परियोजना प्रबन्धक/निर्देशक, स्वास्थ्य सेवा योजना विभाग, सामसुङ अस्पताल), जुङ-योन सिम प्राध्यापक, बालरोग विभाग,काङबुक सामसुङ अस्पताल),
चाङ-बो नोह (टोली नेता, स्वास्थ्य सेवा योजना विभाग, काङबुक सामसुङ अस्पताल), वोन-काङबुक, जुङ पार्क,सिया पार्क,क्यु-प्यो होङ,ब्याङ-सन युन, साङ-मी चिनलगायतका प्रतिनिधिमण्डलका सदस्यहरू अस्पतालको क्षमता अभिवृद्धि गर्ने उद्देश्य साथ आएको जनाएको छ ।
दक्षिण कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मध्यपुर थिमिमा निर्माण भइरहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको भवन निर्माण कार्य भईरहेकाे छ । करिब १ अर्ब २५ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको अस्पताल सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको र भवनको स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको बताइएको छ।
मित्रताको प्रतीक र अग्रणी सेवा केन्द्र कोरिया सरकारको आर्थिक,प्राविधिक सहयोगमा निर्माण भइरहेको यो भवन सम्पन्न भएपछि मुलुककै अग्रणी अस्पतालका रूपमा अघि बढ्नेछ । यो अस्पताल दक्षिण कोरिया सरकार र नेपाल सरकारबीचको दीर्घकालीन मित्रताको प्रतीक को रूपमा रहनेछ। हाल अस्पतालले दैनिक करिब १ हजार जना भन्दाबढी बिरामीलाई सेवा प्रदान गरिरहेको भक्तपुर जिल्ला र आसपासका जिल्लाहरु देखि नेपाल भरीबाटै बिरामिहरु सेवा लिन आईरहेको अस्पताल प्रशासन प्रमुख रूपेश श्रेष्ठले जानकारी दिए । गतआर्थिकवर्ष ०८१/८२ मा करिब २ लाख भन्दाबढी बिरामीको उपचार अस्पतालबाट भएको तथ्यांक छ ।
अस्पतालमा छाला रोग र आईपिडी सेवासहित डायलिसिस सेवा, हाडजोर्नी सेवा,सर्जरी सेवा, स्त्रीरोग, दन्त सेवा, मुटुरोग सेवा, बालरोग सेवा, छाला रोग सेवा, आईपिडी सेवा (भर्ना तथा अन्तरंग विभाग सेवा, २४ सै घण्टा इमरजेन्सी सेवा, आईसियु सेवा, ब्ल्ड वैंक संचालन तथा नेपाल सरकारको स्वास्थ्य बिमा संचालनमा रहेको छ । स्वास्थ्य बिमाको लक्ष्य अनुरुप बढीभन्दा बढी बिरामिलाई सेवा दिने लक्ष्यमा अस्पताल अगाडी बढिरहेको जनाएको छ ।
बिमाबापतको रकम सहजरुपमा प्राप्त भए सेवा विस्तारमा थप सहज हुने र मध्यपुर थिमि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सेवा प्रवाहलाई सहजरुपमा अगाडी बढाईएको उपप्रमुख श्रेष्ठ बताउँछन् । स्वच्छ वातावरणका लागि सरसफाई, स्वस्थ खानेपानीको उपलब्धता, बिरामीहरुको लागि बस्ने आरामदायी स्थानको उपलब्धतालगायत पुर्वाधार विकासमा अस्पताल प्रशासन लागिरहेको जनाएको छ ।




