हेरिटेज नेपाल न्यूज

यःमरी पुन्हि मनाइँदै

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १८ मंसिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । नेपाल भाषामा ‘यः’ को अर्थ मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन छ ।
नेवार समुदायले य:मरी पुन्हिलाई ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर यःमरी बनाउने गरिन्छ ।
यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् ।
आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यःमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी बताउँछन् । यःमरी पुन्हि सुरु हुनुअघि घर-घरमा भित्र्याइएको धानलाई पाँच-छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ । आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको ग्वंग बताउँछन् । यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।
परम्पराअनुसार यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइने उनी बताउँछन् ।
यःमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ । धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउने संस्कृति पहिलादेखि नै रहँदै आएको उनी बताउँछन् ।
तिहारमा देउसीभैलो खेलेझैँ धान्यपूर्णिमाका दिन साँझ टोलटोलका घरघरमा गएर युवकयुवतीले गीत गाउँदै यःमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । आजको दिन साँझ घरघरमा गएर देउसीभैलो खेलेजस्तै गरी यःमरी माग्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । योमरी माग्ने क्रममा घरघरमा गएर यो गीत गाउँने प्रचलन छ ।
‘ट्यो सिं ट्यो, बकसिं ट्यो
लटापाटा कुलिचाँ जुसिंट्या ।।
ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा ।।
छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ।।
अर्थात्,

‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ                      माना–पाथी जेबाट जति दिए पनि देऊ ।
दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।
तिम्रो पनि जाडो, हाम्रो पनि जाडो
दिने भए छिटो देऊ’
यस्ता गीत गाउँदै यःमरी पुन्हिमा घरघरमा गएर यमरी, दान, दक्षिणा, धान, चामल पनि माग्ने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । नेवार समुदायमा दान गरेर चाडपर्व मनाउने परम्परा अझै छ । आफ्नासँग नभए अरुसँग मागेर भए पनि खानुपर्छ भन्ने मान्यताअनुसार नै यःमरी टोलका सबैले बाँडेर खानुपर्छ भन्ने मान्यता रहेको संस्कृतकर्मी बताउँछन् । मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउँदै यःमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइने स्थानीय बासिन्दा बताउँछन् । यो प्रचलनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उनको भनाइ थियो ।
यःमरी पूर्णिमाको दिन नेवार समुदायले समय सूचक चाड एवं दान पर्वका रूपमा यःमरी पुन्हि मनाउने गर्छन् । धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ । धान्यपूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ ।
किंवदन्तीअनुसार पाञ्चाल देश (हालको पनौती)मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको वेशमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगेका थिए । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाएका थिए । उनको सत्कारदेखि प्रसन्न भइ कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र यःमरी खाएका कारण शरीरसमेत हृष्टपुस्ट हुन थाल्यो । त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमा मनाउने संस्कृति विकास भएको मानिन्छ । य:मरी पुन्हिलाई नेवार समुदायले ज्यापू दिवसको रूपमा मनाउने चलन छ भने, उँभौली पर्व समेत मनाइन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...