भक्तपुर, २० कार्तिक । मन्दिर परिसरमा दाफा भजन । बीचमा भुटेको मकै, कालो भटमास, गहुँबाट बनाइएको गणेशको आकृति । यो आकृति बुधबार साँझ कार्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पूर्णिमाको अवसरमा गोल्मढीस्थित गणेश मन्दिरसँगै घर/घरबाट ल्याएको भुटेको मकै, कालो भटमास, गहुँजस्ता गेडागुडी तथा स्वारी मालपुवालगायत रोटीबाट बनेको आकृति हो । अन्नको आकृति बनाइने संस्कृतिलाई हरिमन्दि तथा नसा ब्वयेगु भन्ने चलन छ । भक्तपुरका नेवार समुदायले बुधबार कार्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पूर्णिमा मनाएका छन् ।
गोल्मढीमाजस्तै ज्याठा गणेश, बाराहीस्थान, सूर्यविनायक गणेश मन्दिरलगायत टोलटोलका मन्दिरहरुमा नसा ब्वयेगु देख्न सकिन्छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासका कारण तौमढी, दत्तात्रय मन्दिरलगायत मन्दिरमा भने यसवर्ष नसा ब्वयेगको आकृति देख्न पाइएन । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार नेपालमण्डलभित्र बसोबास गर्ने नेवार समुदायले चन्द्रमाको गतिलाई आधार मानेर वर्षभरि विभिन्न जात्रा, चाडपर्व मनाउने चलन छ । विभिन्न चाडपर्व मध्ये एक पूर्णिमा तिथि पनि हो । आकाशमा चन्द्रमाको पूरै भाग देखिने दिनलाई पूर्णिमा भनिन्छ । प्रत्येक महिनामा एक पूर्णिमा आउँछ । त्यसमा कार्तिक शुक्ल पूर्णिमाको दिनलाई सकिमना पूर्णिमा मनाउने चलन छ । सकिमिला पूर्णिमा वा हलिमलि पर्वको रुपमा पनि चिनिन्छ । ‘सकी’ भन्नाले पिँडालु जनाउँछ भने ‘मना’ले उसिने भन्ने अर्थ लाग्छ । यस दिन देवालय, शिवालय, मठ मन्दिर तथा देवी/देवताको मूर्ति अगाडि सम्बन्धित मूर्त वा अमूर्त चित्रहरू प्रदर्शन गरिन्छ ।
<span;>चित्रहरू भुटेको मकै, कालो भटमास, गहुँजस्ता गेडागुडी तथा स्वारी मालपुवालगायतका रोटीहरूबाट बनाइएका हुन्छन् । यो अत्यन्त आकर्षक हुन्छ । कुनै देवदेवीको चित्र पूर्णरुपमा बनाइएको हुन्छ त कुनै प्रतिकात्मक हुन्छ । गणेशको मूर्ति अगाडि कतै अत्यन्त आकर्षक गणेशको पूर्ण चित्र बनाइएको हुन्छ त कतै गणेशको वाहन एउटा छुचुन्द्रोमात्र बनाइएको हुन्छ । कतै गणेशको हतियार बञ्चरो बनाइन्छ । स्थानीयले टोल तथा बस्तीमा रहेका देवदेवीको चित्र बनाउँछन् ।
सफा, ठूला कपडा तथा त्रिपालमाथि सर्वप्रथम भुटेको गहुँ बिछ्याइन्छ । गहुँमाथि भुटेको मकैबाट सम्बन्धित देवदेवीको चित्र बनाइन्छ । त्यसमा आँखा, कान, नाक, टीकालगायत स–साना आकृति कालो भटमासबाट तयार गरिन्छ । चारैतिर स्वारी मालपुवाजस्ता रोटीले सजाइन्छ । यसरी नसा ब्वयेगु गर्दा सम्बन्धित ठाउँका दाफा भजनले भजन गरिन्छ । यस दिन व्रत बस्नेहरूलाई देवताको प्रसादको रुपमा भुटेको मकै र भटमास दिई पठाइन्छ । साथै घरघरमा पिँडालु, सखरखण्ड र तरुल उसिनेर खाने चलन छ । भुटेको भटमास, मकै पनि खाने गरिन्छ ।
संस्कृतिकर्मी धौभडेलका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल परेछ । धानको बीउसमेत पाइएन । खानको लागि यहाँ गहुँ, मकै, भटमासजस्ता अन्नमात्र बाँकी भयो । त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कात्र्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रुपमा खाने चलन बन्यो ।
<span;>नेवार समुदायमा प्रत्येक पूर्णिमाको दिन विशेष परिकार खाने चलन छ । यसमा कार्तिक शुक्ल पूर्णिमाको दिन पिँडालु उसिनेर खाने चलन छ । पिँडालु खानु पर्नुको कारण एकपटक रावणले सृष्टिकर्ता ब्रह्मादेखि डाहा लागी सम्पूर्ण दानवलाई मानव गर्न कठोर तपस्या गरेछ । तपस्या सफल भएपछि यहाँ खाने वस्तुको अभाव भयो । त्यसपछि रावणले जमिनमाथि मकै र जमिनमुनि पिँडालु उत्पन्न गरे । पछि सम्पूर्ण देवता र मानव मिली रावणको प्रयास असफल बनाउन कर्कलो सखाप पार्नतिर लागे । त्यसैक्रममा दशहराको दिन कर्कलोको तरकारी खाने, जनैपूर्णिमाको दिन (साराँ) कर्कलोको अचार खाने र यही मंसिर शुक्ल पूर्णिमाको दिन पिँडालु खानुलाई राक्षसको निर्मूल गरेको सरह मानिन्छ ।
पशुपतिनाथ मन्दिरभित्र रहेको ताम्रपत्रमा उल्लेख भएअनुसार नेपाल संवत् ५६० मा राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले आफ्ना दिवङ्गत माता संसारदेवीको नाममा वर्षभरि विभिन्न पूजापर्व उल्लेख गर्ने क्रममा कार्तिक शुक्ल पूर्णिमाको दिन पनि उल्लेख गरिएको छ । तर त्यहाँ सकिमना पूर्णिमा वा हरिमन्दि नभई जुधान पुन्हि उल्लेख छ । उक्त जुधान पुन्हिको खास अर्थ के हो स्पष्ट हुन सकेको छैन । उक्त दिन पिँडालु उसिनेर खाने चलन भएको कारण पछि गएर उक्त दिन सकिमना पुन्हिबाट प्रख्यात भएको हुनसक्ने संस्कृतिकर्मी धौभडेल बताउँछन् । नेपाल संवत् ८१८ मा भूपतीन्द्र मल्लले लेखाएको भक्तपुर दरवार क्षेत्रको मालती चोकको अभिलेखबाट पुष्टि हुन्छ । भक्तपुर तलेजुभित्र सकिमना पुन्हि मनाउने क्रममा तलेजुभवानीलाई खीर चढाउने गरिन्छ । साथै तलेजु मूलचोकको स्नेह मण्डपमा नसा ब्वयेगु गरिन्छ ।

