सुर्यविनायक-३ सार्वजनिक सुनुवाइ : प्रचार भन्दा काममा जोड

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका-३ मा विकास, सेवा प्रवाह, सुशासन तथा जनचासोका विषयमा केन्द्रित सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी) को आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा वडा कार्यालयमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा वडाले गरेका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक गतिविधि तथा आगामी प्राथमिकताबारे समीक्षा गरिएको थियो । कार्यक्रममा स्थानीयवासीले आफ्ना गुनासा, सुझाव र जिज्ञासा खुलस्त रूपमा राखेका छन् ।

कार्यक्रममा वडासचिव शेषराज दाहालले चालु आर्थिक वर्षमा वडामा ३० वटा योजना सञ्चालन भएको जानकारी दिँदै अधिकांश योजना सम्पन्न भइसकेको बताए । उनका अनुसार ३२६ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने विभिन्न शीर्षकबाट ८१ लाख ९८ हजार ७४३ रुपैयाँ राजस्व संकलन भएको छ । बढ्दो महँगीका कारण केही योजनामा चुनौती देखिएको उनले उल्लेख गरे ।

सुनुवाईमा सहभागी स्थानीयबासीहरूले तुवाचो गणेश मन्दिरको पुनर्निर्माण, खानेपानी वितरणको असमानता हटाउने व्यवस्था, सडकबत्ती जडान, स्वास्थ्य शिविर सञ्चालन, किरियापुत्री भवन निर्माण, गणेश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार, ढल व्यवस्थापन, सार्वजनिक कार्यक्रममा जनसहभागिता वृद्धि, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलामैत्री कार्यक्रम, सीसी क्यामेरा जडान तथा जीवन विज्ञान (योग) प्रयोगशालाका लागि भवन व्यवस्थापनलगायत विषय उठाएका थिए ।

प्रश्नहरूको जवाफ दिँदै बालकोट प्रहरी प्रभागका प्रमुख पदमबहादुर बलायरले अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनका लागि सार्वजनिक स्थानमा थप सीसी क्यामेरा जडान आवश्यक रहेको बताए । साथै, बिग्रिएका क्यामेराको मर्मतसम्भारमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य चौकी बालकोटका प्रमुख सुशील घिमिरेले सीमित स्रोत–साधनका बाबजुद जेष्ठ नागरिक तथा दीर्घरोगी नागरिकलाई सेवा दिइरहेको जानकारी दिए । उनले सुगर र प्रेसरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइरहेको, नियमित स्वास्थ्य शिविर सञ्चालन भइरहेको तथा गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्डसहितको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताए  । जेष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि थप बजेट र औषधिको आवश्यकता रहेको उनले औंल्याए । बालकोट खानेपानी उपभोक्ता समितिका सचिव हरिचन्द्र अधिकारीले केयूकेएल र नगरपालिकाबीचको सहकार्यपछि केही राहत मिलेको भए पनि मागअनुसार पानी वितरण गर्न अझै चुनौती रहेको बताए । पाइपलाइन विस्तारमा समस्या रहेको उल्लेख गर्दै उनले उपलब्ध पानीलाई समान रूपमा वितरण गरिरहेको स्पष्ट पारे ।

कार्यपालिका सदस्य हेमा दाहालले महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताइन् । उनले सीपमूलक तालिममार्फत स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गरिएको उल्लेख गर्दै आवश्यक परे व्यवसाय सञ्चालनका लागि समेत वडाले सहयोग गर्ने बताइन् ।कार्यक्रमका क्रममा वडाध्यक्ष दीपेन्द्र केसीले विकासका लागि योजना मात्र नभई पर्याप्त बजेट आवश्यक रहेको धारणा राखे । उनले तुवाचो गणेश मन्दिर पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै गणेश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पूर्वाधार निर्माणको योजना रहेको जानकारी दिए ।
एक वर्षमा करिब २ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त हुने उल्लेख गर्दै उनले उपभोक्ता समितिमा देखिने विवाद न्यूनीकरण गर्न अधिकांश योजनालाई टेण्डर प्रक्रियामार्फत अघि बढाउने नीति लिइएको बताए । वडाध्यक्ष केसीले वडा नं. ३ र ४ को सिमानामा सार्वजनिक भवन निर्माणका लागि पहल भइरहेको, खानेपानी समस्या समाधानका लागि केयूकेएलसँग सहकार्य भइरहेको तथा आवश्यकता र समानुपातिक वितरणको आधारमा टोल–टोलमा बजेट विनियोजन गरिएको स्पष्ट पारे । ‘हामीले प्रचार होइन, काम गरेर देखाएका छौं,’ उनले भने–‘वडाका सबै क्षेत्रलाई समेटेर विकासलाई सन्तुलित ढंगले अघि बढाएका छौं ।’

ढल व्यवस्थापनमा स्थानीय साझेदारीको मोडेल अपनाउन आग्रह गर्दै उनले सडकमा थप सीसी क्यामेरा जडान गर्ने तथा जीवन विज्ञान प्रयोगशालाका लागि उपयुक्त जग्गा उपलब्ध भए भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, सीपमूलक तालिमका लागि बजेट अभाव नरहेको र माग आएअनुसार कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
सार्वजनिक सुनुवाईमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा उठाइएका प्रश्न, सुझाव र अपेक्षाहरूले वडा कार्यालयलाई आगामी योजना तथा सेवा प्रवाह थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रमका अधिकांश सहभागीले वडा अध्यक्षको काम गर्ने तरिका र आत्मविश्वासको खुलेर प्रशंसा गरेका थिए ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए भने सल्लाहकार दिवस गुरागाईंले कार्यक्रमको विषय प्रवेश गराएका थिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...