रामेछापको उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

रामेछाप, २ जेठ । रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषण भएको छ।
शनिबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाले २०८२ चैत १२ भित्र सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य लिएको थियो। सोही लक्ष्यअनुसार ७ वडामा रहेका १५५ जना जन्मदेखि १५ महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै नियमित खोप प्राप्त गरेका छन्। त्यस्तै, १६ देखि ५९ महिनासम्मका ४६८ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेको सुनिश्चित भएपछि गत चैत १८ गते नै सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अविजित सुनुवारका अनुसार दुर्गम बस्तीका घरघर पुगेर बालबालिकालाई खोपको पहुँचमा ल्याउने काम निरन्तरको प्रयासपछि मात्र सफल भएको हो। उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अभिभावकको भूमिका निर्णायक भएको उल्लेख गर्दै अब यो उपलब्धिलाई निरन्तर कायम राख्नु मुख्य चुनौती भएको बताए। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले यो उपलब्धि समुदायको साझा प्रयासको प्रतिफल भएको बताए। कुनै समय सामान्य स्वास्थ्य सेवासमेत कठिन रहेको उमाकुण्डमा सबै बालबालिका खोप सेवामा समेटिनु ठूलो सफलता भएको उनको भनाइ थियो।

स्वास्थ्य मन्त्री थापा मगरले समृद्ध प्रदेश निर्माणका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले तीनै तहका सरकारबिच प्रभावकारी समन्वय भए मात्रै दुर्गम क्षेत्रका नागरिकले वास्तविक परिवर्तन महशुस गर्न सक्ने बताए।
प्रदेश राजधानीबाट टाढा र भौगोलिक रूपमा विकट मानिने उमाकुण्डको विकासका लागि बागमती प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर अघि बढ्ने उनको प्रतिबद्धता छ ।
साथै अलपत्र परेका योजनाहरूलाई अघि बढाउन सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्ने पनि उनले बताए। उमाकुण्डको यो उपलब्धिले दुर्गम क्षेत्रमै पनि स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्‍याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको मन्त्री थापा मगरको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...