नयाँ बसपार्कबाट एकीकृत यात्रुबाहक सवारी साधन सञ्चालन गर्न अन्तिम ३ दिनको अवधि

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौँ, ८ वैशाख । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न सोमबार काठमाडौँ महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरु सम्पर्कमा आएको बताउँदै धादिङ तर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरुले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीहरुलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।
बैठकमा यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै कार्यबाहक प्रमुख डंगोलले, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिएकी छन् ।
‘बसपार्कको समस्यासँगै ठमेल लगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउँका परिवारले ध्वनी प्रदुषणले असर गरेको, स्पालगायतका व्यवसायमा हुने अवाञ्छित क्रियाकलापबाट पारिवारिक वातावरण बिग्रिएको, छात्राबास सञ्चालकहरुबाट बसोबासमा समस्या आएको जस्ता गुनासा आउने गरेका छन् । यसको नियमनका लागि नेपाल प्रहरी र महानगर प्रहरी बलका आफ्नाआफ्नै क्षेत्राधिकार छन् । एकै पटक अनुगमन जाने र आफ्ना आफ्ना क्षेत्राधिकारका काम गर्न थालेपछि व्यवस्थापनमा महसुस योग्य नतिजा आउनेछ,’ उनले भनिन् ।

बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले, सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानु पर्ने बताएका छन् । यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दी विरुद्धको अभियानले अनधिकृत काम गर्नेहरुको संख्यामा कमी आएको बताए । ठमेल क्षेत्रको सामाजिक अवस्थाको कुरा गर्दै थापाले, निषेधित काम गर्ने २० जना विदेशी महिलालाई डिपोट गरिएको जानकारी दिँदै अपराधमाथिको निगरानी  जारी रहेको बताए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरपालिका र ट्राफिक प्रहरीका बिचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनु पर्ने बताए ।
<span;>सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप, सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका विषयमा बैठक केन्द्रीत थियो ।
यसमा पनि महानगरपालिकाले जारी गरेका सूचना तथा पटक पटक भएका सहमति तथा निर्णय विपरीत बसपार्क क्षेत्र बाहिरबाट यातायात सेवा सञ्चालन भइरहेकोमा यसको नियन्त्रण र व्यवस्थापनको विषय विश्लेषण भएको थियो ।
प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार यसक्षेत्रबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौँमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको शाहको भनाइ छ ।
ल्होत्से बहुउद्देश्यीय प्रा. लि. का मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार नयाँ बसपार्क भित्रबाट अहिले ५७ वटा कम्पनीका सवारी साधन सञ्चालन हुन्छन् । लामो दुरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ् गरेको ४ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपियाँ लिने गरिएको मल्लको भनाइ छ । बसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङ् लगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

काठमाडौँ महानगरपालिकाद्वारा शिक्षण अस्पताललाई १ करोड ७० लाख रुपैयाँ बराबरका उपकरण हस्तान्तरण

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले शिक्षण अस्पताल महाराजगन्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैँया...

ख्वप्रिङ एकेडेमीमा आगलागी

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-८ लिवालीस्थित ख्वप्रिङ एकेडेमीमा आगलागी भएको छ । प्रहरीका अनुसार बिहीबार राति विद्युत्‌को...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-१० छालिङ रोडस्थित सैनिक ब्यारेक नजिकै खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको...

चाँगुनारायणमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन आह्वान

भक्तपुर, २१ जेठ । चाँगुनारायण नगरपालिकाकाे दुईवटा वडामा ‘बर्ड फ्लु’  रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर...