बिस्काः जात्राको लिङ्गो ठड्याईंदै

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३० चैत । भक्तपुरको प्रसिद्घ बिस्काः (बिस्केट) जात्राको चौथो दिन शुक्रबार तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन साँझ अर्थात् सोमबार भक्तपुरकै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो) ठड्याउनुअघि बिहान कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याइएको हो ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्त लिङ्गोकोे टुप्पामा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याइने र वैशाख ५ गते सो लिङ्गो ढालिएपछि नौ दिन आठ रात लामो बिस्केट जात्रा सम्पन्न हुन्छ ।
भेलुखेलस्थित यसीँख्यमा आजै ५५ हात लामो यसीँ (लिङ्गो) ठड्याएर जात्रा मनाइएको छ । बिस्केट जात्राको अर्को आकर्षण लिङ्गो ठड्याउनु हो ।
भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याइने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । लिङ्गो ठड्याउनुअघि भैरवनाथ र भद्रकालीको रथ गःहिटीबाट तानेर भेलुखेलस्थित यसीँख्य पुर्याउनुपर्ने परम्परा छ ।
यो जात्राका एक जोडी लिङ्गो आवश्यक पर्छ । जात्राका लागि भक्तपुर चित्तपोलस्थित लिङ्गेवनबाट ५५ हातको सल्लाको रुख काटेर ल्याइन्छ । लिङ्गोलाई भैरवनाथ र भद्रकालीको प्रतीकका रुपमा लिइन्छ । सो जात्राका लागि ल्याइएको काठलाई जन्ममृत्युसम्बन्धी दशकर्म गरेर काठलाई लिङ्गोका रुपमा परिणत गर्ने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताउँछन्। ‘लिङ्गोका लागि ल्याइएको नयाँ काठलाई नेवारी संस्कृतिअनुसार बेलविवाह गर्ने, गुफा राख्ने, व्रतबन्ध गर्ने र विवाहसमेत गर्ने काम सम्पन्न भएपछि एउटा काठ लिङ्गोको रुपमा परिणत हुन्छ,’  उनले भने, ‘त्यसपछि मात्र त्यो काठले देवत्व प्राप्त गर्छ ।’
लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको धौभडेलले बताए । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...