काठमाडौं, ७ चैत । लागू औषध ब्यूरो कोटेश्वरले लागु औषध खैरो हेरोइन १३७ दशमलव ४०० ग्राम र चरेश २ केजी ३०० ग्राम सहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंको स्कुल कलेज पढ्ने विद्यार्थीहरुलाई समेत लागु औषध चरेश बिक्री गर्दै आएकी भन्ने विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले (बिहीबार) चैत ५ गते ललितपुर महानगरपालिका-१८ बाट मकवानपुर, थाहा नगरपालिका-११ की वर्षीया ३८ कल्पना तामाङ लागु औषध चरेश २ केजी ३०० ग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ परेका हुन् ।
त्यस्तै, भारतबाट काठमाडौंमा लागु औषध खैरो हेरोईन ल्याई बिक्री गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा बिहीबार काठमाडौं महानगर-१५ कारखानाचोकबाट सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-५ का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा नगरपालिका-७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रेपलान्चोक, तेमाल गाउँपालिका-८ का ३० वर्षीय सागर तामाङलाई लागु औषध खैरो हेरोईन ३७ ग्राम ४०० मिलिग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ गरिएको ब्यूरोको प्रवक्ता एसपी दुर्गा राज रेग्मीले जानकारी दिए । साथै थप अनुसन्धानको क्रममा उनीहरूलाई लागु औषध खैरो हेरोईन बिक्री गर्ने भारतीय नागरिक भारत, बिहार अररिया फारबिसगंज-१५ का २५ वर्षीय बिपुल बर्मालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई मोरङ, विराटनगर महानगर-११ बसपार्कबाट लागु औषध खैरो हेरोईन १०० ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ बुझाएको एसपी रेग्मीले जानकारी दिए ।
पक्राउ परेकाहरु विरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम भई अनुसन्धान भईरहेको उनले बताए ।




