काठमाडौं, ९ चैत । राष्ट्रिय किताब खाना (शिक्षक) ले ४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ । किताबखानाले गत आर्थिक वर्ष २० हजार र चालु आवमा थप २० हजार शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको उपमहानिर्देशक दिनेश घिमिरेले जानकारी दिए । यस आवको अन्त्यसम्म थप ७ हजार शिक्षकको व्यक्तिगत सोहीअनुसार अभिलेख गर्ने लक्ष्य लिएको उनले बताए ।
किताकखानाले सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई निवृत्तिभरण, उपदान, उपचार खर्च, सञ्चित बिदाको रकम भुक्तानी, पारिवारिक निवृत्तिभरण, शैक्षिक तथा सन्तति वृत्तिलगायत सुविधाहरू उपलब्ध गराउँदै आएको छ । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ मा व्यवस्था भएबमोजिम अवकाशप्राप्त शिक्षकले किताबखानाबाट पेन्सनपट्टा बनाउँछन् । कार्यरत शिक्षक ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश जाने व्यवस्था छ । उक्त संस्थाले वर्षमा २ पटक (माघ र वैशाख) शिक्षकको अनुमानित अनिवार्य अवकाशको सूची प्रकाशन गर्दै आएको छ ।
तत्कालीन शिक्षा मन्त्रालयअन्तर्गत विभागस्तरीय कार्यालयको रूपमा स्थापना भएको विद्यालय शिक्षक किताबखाना मुलुकको शासकीयस्वरूप परिवर्तनपश्चात् हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालनमा छ । उपमहानिर्देशक घिमिरेका अनुसार यस आवभित्र २ हजार ८३ शिक्षक अवकाश हुँदैछ ।
यसका अलावा किताबखानाले शिक्षकको सिटरोल दर्ता तथा प्रमाणीकरण, नोकरी विवरण अद्यावधिक, उमेर हदका कारण अनिवार्य अवकाश पाउने शिक्षकहरूको नामावली प्रकाशन, वार्षिक तलब विवरण पारित, निवृत्तिभरण कोषको सञ्चालन, सेवा अवधि गणनासम्बन्धी काम, सम्पत्ति विवरण दर्ता, शिक्षकको पदपूर्तिदेखि अवकाशसम्मका कार्य सम्पन्न गर्दै आएको छ ।
शिक्षा मन्त्रालयको शैक्षिक सूचना सँगालो, २०८१ अनुसार आधारभूत र माध्यमिक तहमा स्थायी शिक्षक ८३ हजार ९८९, अस्थायी शिक्षक २९ हजार ६९९ र राहत शिक्षक ३९ हजार ९६२ गरी एक लाख ५६ हजार ६४० शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् ।




