भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिका-२ खौमास्थित ऐतिहासिक एवम् पुरातात्विक श्री इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य सम्पन्न भई शुक्रबार परम्परागत विधिअनुसार लुखा पुजा, धुरी पुजा र अन्य पूजाहरु सम्पन्न गरेको छ । पुजा समारोहमा उपस्थित भई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत जनताको साथ र सहयोगमा पुनःनिर्माण भएको श्री
इन्द्रायणी द्योछेँप्रति स्थानीय जनताको अपनत्व रहने विश्वास व्यक्त गरेका छन् । विदेशीको सहयोगबिना स्थानीय श्रम र साधनको उपयोग गरी यहाँका सम्पदा पुनःनिर्माण हुन सक्ने उदाहरण पनि यसले दिएको प्रष्ट पार्दै उनले द्योछेँ पुनःनिर्माण कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् ।
श्री इन्द्रायणी द्योछेँ पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद चरण रायले उपभोक्ता समितिमार्फत ३ करोड बराबरको लागतमा इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य सम्पन्न भएको र विभिन्न संघ,संस्था गुठीलगायत स्थानीयबाट रु. ५२ लाख बराबरको आर्थिक सहयोग संकलन हुनुका साथै द्योछेँ पुनःनिर्माणको क्रममा सयौं स्थानीयहरुले जनश्रमदान समेत गरेको जानकारी गराएका छन् ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको बजेटमा निर्माण भएको द्योछेँ पुनःनिर्माणका सिकर्मी र डकर्मीलाई टोपी र बेताली लगाई सम्मान गरेका छन् ।




