काठमाडौं, २८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका १३ जना निर्वाचन प्रहरीलेले ज्यान गुमाएका छन् । १० जिल्लाका १३ निर्वाचन प्रहरीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका हुन् ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीको नियुक्ति लिइसकेपछि काममा खटिएकै अवस्थामा उनीहरूको ज्यान गएको हो । जिम्मेवारी निर्वाहका क्रममा निर्वाचन प्रहरीको मृत्यु भएमा प्रहरी जवानको मृत्यु हुँदा नजिकका हकवालालाई दिइने सुविधासरह नै उसका परिवारलाई सुविधा दिइने व्यवस्था छ ।
रुपन्देहीको सिद्दार्थ नगरनगरपालिका-९ का २५ वर्षीय बाबुराम यादव र बैतडीको दशरथचन्द नगरपालिका-४ का ३२ वर्षीय प्रकाश चन्दको २० माघमा निधन भएको थियो । ६ फागुनयता बाँकी ११ जनाको मृत्यु भएको हाे । सोही वडाका महादेव ओड, बैतडीकै मेलौली नगरपालिका-६ का राजेन्द्रप्रसाद भट्ट, धनुषाको धनौजी गाउँपालिका-४ का ३७ वर्षीय राजेशकुमार पासवान, बाराको आदर्शकोतवाल गाउँपालिका-४, इनर्वाका २५ वर्षीय शेख जसमैद, महोत्तरीको मटिहानी-७ का २३ वर्षीय राजाबाबु रामले पनि निर्वाचन प्रहरीका रुपमा खटिएकै बेला ज्यान गुमाए ।
रौतहटको गुजरा-२, चोचाटोलका १९ वर्षीया जेश्मी चौधरी, नवलपरासीको सरावल गाउँपालिका-२, मनरीका २० वर्षीय सुरज चमार, राैतहटको फतुवा बिजयपुर नगरपालिका-७ का २४ वर्षीय पवन साह, कञ्चनपुरको लालझाडी गाउँपालिका-३, बल्मीका ३५ वर्षीय मानसिंह राना, नुवाकोटको बिदुर नगरपालिका-९ का ४० वर्षीय बेगबहादुर तामाङ र सिन्धुपाल्चोकको बाहृबिसे नगरपालिका-४, ओख्रेनीका ४७ वर्षीय नकुल भण्डारीको ज्यान गएको छ ।
प्रहरी प्रवक्ता काफ्लेले निर्वाचन सुरक्षाजस्तो गहन जिम्मेवारी निर्वाह गर्ने क्रममा भएको निर्वाचन प्रहरीको निधन देशकै लागि अपुरणीय क्षति रहेको बताए ।
४० दिन कार्यअवधि तोकेर १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका १ लाख ४९ हजार ९० जना नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना भएका थिए । २१ फागुनको निर्वाचन, त्यसअघि र गणना अवधिभर प्रहरी र सशस्त्रको सहयोगी बनेर निर्वाचन प्रहरी फिल्डमा खटिएका थिए ।
जसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ९० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनालाई निर्वाचन प्रहरीमा भर्ना गरेर खटाएका थिए । नेपाल प्रहरीमातहत खटिएका निर्वाचन प्रहरीलाई मतदानस्थल सुरक्षामा प्रहरीको सहयोगीका रुपमा परिचालन गरिएको थियो भने सशस्त्रले बाहिरी सुरक्षा घेराको जिम्मेवारीअनुसार आफ्नो सहयोगी फौजका रुपमा परिचालन गरेको थियो ।




