काठमाडौं, २६ फागुन । भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको निधन भएको छ। मनमोहन कार्डियाक सेन्टर, महाराजगञ्जमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो। ५९ वर्षीय उनलाई सोमबार हृदयाघात भएको थियो।
बुधबार बिहान ९ बजेदेखि दिउँसो मध्याह्न १२ बजेसम्म नेपालभाषा मंका खलमा श्रद्धाञ्जलिको कार्यक्रम हुने नेपालभाषा एकेडेमीले जनाएको छ। उनको अन्त्येष्टि लुँति घाट (खुसिबु)मा हुने पत्रकार केके मानन्धरले जानकारी दिए।
स्व. सुरेशकिरण नेपालभाषा साहित्यका लोकप्रिय कवि पनि हुन्। नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता शुरु गरेका उनले सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहे। यसैगरी, अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर काम गरेका थिए।




