काठमाडौं, २२ माघ । वैदेशिक रोजगारीको सपना देखाएर शरीर बन्धक तथा ठगी गर्ने ७ जना प्रहरीले पक्राउलाई गरेकाे छ भने, ५ जना बंगलादेशी नागरिकको उद्वार गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ भंगाल स्थित एकघर भाडामा लिई वैदेशिक रोजगारीको लागि ईटाली पठाई दिने भनि बंगलादेशी नागरिकहरूलाई बंगलादेशबाट बोलाई उक्त घरमा बन्धक बनाई राखी ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घर खानतलासी गर्दा बन्धक बनाई राखेको अवस्थामा ५ जना बंगलादेशी नागरिकहरूलाई फेला पारी निजहरूलाई उद्धार गरी बन्धक बनाउने र ठगी गर्ने निम्न ७ जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पक्राउ पर्नेहरुमा बङ्गलादेश घरभइ काठमाडौं टोखा बस्ने ३८ वर्षीय आल मामुन, सामाखुसी बस्ने ३९ वर्षीय बिलाल, नेपालटार बस्ने २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारत घरभइ काठमाडौं गौशाला बस्ने ४१ वर्षीय सरोज कुमार र नुवाकोट घरभइ काठमाडौं तारकेश्वर बस्ने ३२ वर्षीय सशि पाठक छन् । मङ्गलबार पक्राउ परेका उनीहरू विरुद्ध शरीर बन्धक तथा ठगी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।




