काठमाडौं, १७ पुस । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरोबाट खटिएको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।



