भक्तपुर, १६ माघ । बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरले मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको थप सेवा तथा शैया विस्तारका लागि स्थलगत अनुगमन गरेका छन् । अस्पतालको अनुगमन तथा निरिक्षण गर्दै स्वास्थ्यमन्त्री थापा मगरले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको २०८२ माघ १४ गते को निर्णयअनुसार नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ५० शैयाको जनरल अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिएको प्रमाणपत्र समेत प्रदान गरेका छन् । कार्यक्रममा मन्त्री थापा मगरले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट भक्तपुरबासीले अझ सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा विश्वास गरे।
स्वास्थ्यमन्त्रीसँगै बागमती प्रदेशस्वास्थ्य मन्त्रालयकी सचिव डा.सुमित्रा गौतमले अस्पतालको अवलोकन गरेकी छिन् ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं अस्पताल सञ्चालक समिति अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार रौशन, प्रशासकीय प्रमुख सरिता श्रेष्ठ, प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलगायतले मन्त्री थापामगरलाई अस्पतालले पुर्याउँदै आएको सेवा, सुविधा र भावी योजनाका बारेमा जानकारी गराएका छन्। टोलीले अस्पतालका विभिन्न विभागहरूको निरीक्षण गर्दै स्वास्थ्य सेवाको गुणस्तर र सुधारका पक्षमा छलफल समेत गरेका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सन् १९९९ मा ‘किङ्ग ही नेपाल स्वास्थ्य केन्द्रको रूपमा स्थापना भएको थियो। स्थानीयबासीलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुरु भएको केन्द्रलाई नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ सेप्टेम्बर २००९ मा ५० बेडको जनरल अस्पतालमा स्तरोन्नति गरिएको थियो।
यस अस्पताललाई नेपाल र दक्षिण कोरिया बीचको मित्रताको प्रतीक रूपमा समेत लिइन्छ । अस्पतालको विकासमा दक्षिण कोरियाली सरकारको वैदेशिक सहायता निकाय कोइका र रोज क्लब कोरियाको ठूलो प्राविधिक तथा आर्थिक सहयोग रहेको छ।
नगरपालिकाको स्वामित्व: नेपाल कोरिया मैत्री अस्पताल मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित छ । कोभिड-१९ महामारीको समयमा टेकु अस्पतालपछि पिसिआर परीक्षण सुरु गर्ने यस अस्पताल नेपालको दोस्रो अस्पताल बनेको थियो। हाल अस्पतालले आफ्नै अक्सिजन प्लान्ट, भेन्टिलेटर, बाल सघन उपचार कक्ष र एनआइसीयूजस्ता अत्याधुनिक सुविधाहरू संचालनमा छन् ।
हालको विस्तार र भावी योजना (सन् २०२४-२०२६):
१०१ बेडको नयाँ भवन: हालै कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झण्डै १ अर्ब २५ करोड रुपैयाँ) को अनुदान सहयोगमा अस्पतालको १०१ बेडको नयाँ भवन निर्माण कार्य अघि बढेको छ। नयाँ भवन निर्माण तथा विस्तारसँगै अस्पतालले न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी जस्ता विधामा थप विशेषज्ञ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार रौशनले जानकारी दिए ।




