हेरिटेज नेपाल न्यूज

निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीको दरखास्त

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १ माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीले दरखास्त दिएका छन् । २५ पुसबाट निर्वाचन प्रहरी भर्नाको आबेदन खुलाइएकामा बुधबारसम्म १ लाख ६० हजार २ सय ३९ जनाको आवेदन परेको हो । आवेदन दिने म्याद बिहीबार (आज) अन्तिम हो ।
२१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी मातहत खटिने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी १५ हजार १ सय १० जनाका लागि आवेदन खुलाइएको थियो । नेपाल प्रहरीले आफ्ना जिल्लास्थित प्रहरी कार्यालय र सशस्त्रले जिल्लाकै गण/गुल्मबाट भर्ना खुलाएका थियो ।
जसमा नेपाल प्रहरीमार्फत एक लाख ४७ हजार ९ सय ८८ र सशस्त्र प्रहरीमार्फत १२ हजार २ सय ५१ जना छन् । प्रहरीमार्फत आवेदन दिनेमध्ये विगतका निर्वाचनमा म्यादी प्रहरी भएर खटिने २१ हजार ७ सय ३६ र सशस्त्र मार्फत आवेदन दिनेमा ९ सय ३७ म्यादी प्रहरी छन् । ३९ हजार ९ सय १ महिलाको आवेदन परेको छ । बाँकी पुरुष आवेदक छन् । बिहीबार रातीसम्म आवेदन दिने कूल संख्या तय हुने र त्यसपछि छनोट प्रक्रिया अघि बढाइने दुबै प्रहरी प्रधान कार्यालयले जनाएका छन् । प्रहरीका अनुसार विगतका निर्वाचनको तुलनामा यसपटक म्यादीमा तुलनात्मक कम आवेदन परेको छ । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएकामा दोब्बर अर्थात २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो ।
त्यसअघि २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन सुरक्षामा पनि करीब १ लाख म्यादी प्रहरी भर्नाको आवेदन खुलाइएकामा माग भन्दा तेब्बर बढी अर्थात करिब ३ लाखको दरखास्त परेको थियो । तर, यो पटकको निर्वाचनमा भने माग भन्दा केही बढीको मात्रै आवेदन परेको छ । आवेदनको अनुपात हेर्दा यो पटक करीब २ लाख हाराहारीमा आवेदन पर्नसक्ने विश्लेषण सुरक्षा अधिकारीहरुको छ । यो अनुसार दरखास्त परेमा तोकिएका मापदण्डअनुसार छनोट गरिने छ ।प्रहरीका अनुसार आसन्न निर्वाचनका लागि दरखास्त माग गरिएकामा २५ पुसमा ११ हजार ७ जनाले आवेदन दिएकामा २६ पुसमा १७ हजार १ सय ७४, २७ पुसमा ३१ हजार २ सय ८८, २८ पुसमा ३५ हजार ५ सय १३, २९ पुसमा ३४ हजार १ सय ९५ र ३० पुसमा ३१ हजार ६२ जनाको आवेदन परेको छ ।
त्यसमध्ये पूर्व म्यादीबाहेक पूर्व सुरक्षाकर्मी र बन रक्षकबाट पनि निर्वाचन प्रहरीका लागि आबेदन परेको छ ।आसन्न निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्न केन्द्रीय सुरक्षा समिति बैठकले स्वीकृति दिइसकेको छ ।
जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट करीब १ लाख ८८ हजार  जनशक्ति परिचालित हुँदैछन् । यसबाहेक ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख ‘निर्वाचन प्रहरी’ (साबिकमा म्यादी प्रहरी) खटाउने तयारी छ ।
निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलवमान र लत्ताकपडा तथा जवान सरहको रासनभत्ता पाउने छन् । ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धि एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार एकजना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैया तलब, जिल्ला दररेट निर्धारण समितिले तोके अनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रति व्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एक मुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोशाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलव्ध गराइने उल्लेख छ । यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइने भनिएको छ ।
निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्य भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने छ । निर्वाचन अगावै तोकिएको स्थानमा नगई गैरहाजिर हुने, जिम्मेवारी पूरा नगरी भाग्नेलाई तोकिएका कुनै पनि सुविधा नदिइने पनि गृह मन्त्रालयबाट स्वीकृत मापदण्डमा उल्लेख छ ।
यस्तै कथम निर्वाचन रद्द भएमा वा स्थगित भएमा तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द/बदर हुने पनि निर्वाचन प्रहरीसम्बन्धी कार्यविधिमा उल्लेख छ । निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिसकेको छ । निर्वाचनमा भित्रि घेरा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि जोखिमका आधारमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा व्यवस्थापनमा सेना खटाउने तयारी छ ।
निर्वाचन प्रहरी भर्ना छनोटका लागि सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइएको छ । भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड बनाइएको थियो । जसअनुसार अधिकतम २०२८ माघमा जन्मिएका र न्युनतम २०६४ माघ (आवेदन दिने अन्तिम मितिअनुसार १८ पूरा भई ५४ वर्ष ननाघेको) मा जन्मिएको हुनुपर्ने मापदण्ड तय भएको थियो ।
मापदण्डअनुसार नेपाली नागरिक भएको हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारिरीक र मानसिक रुपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, पुरुषको हकमा कम्तीमा ५ फिट उचाई, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाई, ४२ केजी तौल र गर्भवती नभएको/नरहेको हुनुपर्ने योग्यता तय गरिएको छ निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट अवकास र उपदानमा निस्किएका, पूर्व वन रक्षक, सेना/प्रहरीमा भर्नाका लागि २०८१ माघदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा आबेदन दिई शारिरीक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णको हकमा प्रवेश पत्र पेश गर्ने, बिगतमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्रअनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने उल्लेख  छ । उनीहरुलाई १० दिन तालीम र ३० दिन फिल्डमा खटाउने गरी भर्ना गर्न लागिएको छ । सोहीअनुसार बिहीबारसम्म निर्वाचन प्हरी भर्ना आवेदन दिने अन्तिम दिन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...