भक्तपुर, १२ माघ । सूर्यविनायक नगरपालिकामा मङ्गलबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । तीनदिनसम्म चल्ने सूर्यविनायक नगरपालिका तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ मा नगर क्षेत्रका ३६ विद्यालयका करिब एक हजार विद्यार्थी सहभागी हुने छन् । छ वटा खेल समावेश गरिएको प्रतियोगिताको उद्घाट्न सुर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले गर्नेछन् ।
सुर्यविनायक नगरपालिका-६ स्थित बनाचौर खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको सूर्यबिनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले बताए । सूर्यविनायक नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न माघ ११ गते तयारी बैठक बसेको उनले बताए । उक्त प्रतियोगिताको उद्घाटन समारोह सुवर्णेश्वर आधारभुत विद्यालयसँगै रहेको बनाचौर खेलमैदान हुने जनाइएको छ ।
एथलेटिक्स खेलतर्फका सम्पूर्ण विधाहरू संकटा फुटबल ग्राउन्ड सुनपा १० मा हुनेछ भने भलिबल सूर्यविनायक युथ क्लब खेलमैदान सुनपा ८ मा हुनेछ । त्यसैगरी कबड्डी सुवर्णेश्वर आधारभूत मावि सुनपा ६ मा तथा उसु कराते तेक्वान्डो अरनिको मावि सुनपा ४ मा हुने थापाले बताए ।
यसैबीच राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ लाई मध्यनजर गर्दै समितिको पहलमा सूर्यविनायक नगर प्रहरीबल, श्री रणशेण गण सूर्य विनायक ब्यारेक र नेप्सेम्याकको सहयोगमा सूर्यविनायक-६ स्थित बनाचौर खेलमैदान वरिपरि सरसफाई गरिएको छ ।




