विजयकृष्ण श्रेष्ठ, उपप्रमुख मध्यपुर थिमि नगरपालिका
भक्ततपुर, ११ पुस । जेष्ठ नागरिक समाजका जीवित इतिहास हुन्। उहाँहरूको कपालको रङसँगै पाकेको अनुभव देश र समाजका लागि मार्गदर्शक सिद्ध हुन्छ। जसरी एउटा मजबुत जग बिना घर टिक्न सक्दैन, त्यसरी नै जेष्ठ नागरिकको अनुभव र आर्शिवाद बिना परिवार र समाजले सही दिशा लिन सक्दैन।
धार्मिक, सांस्कृतिक र सामाजिक हरेक दृष्टिकोणबाट जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो परम कर्तव्य हो। उहाँहरूलाई सम्मान गर्ने परिवारले मात्र प्रगति र सुख प्राप्त गर्दछ। यही भावनालाई आत्मसात गर्दै मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिकको सम्मान, संरक्षण र स्वास्थ्यलाई आफ्नो प्राथमिकताको केन्द्रमा राखेको छ।
मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिकका क्षेत्रमा गरेका कार्यहरू:
नगरपालिकाले जेष्ठ नागरिकको जीवनलाई सहज, सम्मानित र स्वास्थ्यमैत्री बनाउन निम्न कार्यहरू कार्यान्वयनमा ल्याएको छ: घरदैलोमै सामाजिक सुरक्षा भत्ता: विगतमा बैंकमा घण्टौं लाइन बस्नुपर्ने र यातायात खर्च गरेर सकसपूर्ण ढङ्गले भत्ता लिनुपर्ने बाध्यतालाई नगरपालिकाले अन्त्य गरेको छ। हाल वडा र बैंकसँगको समन्वयमा टोल-टोलमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ।
निःशुल्क स्वास्थ्य बिमा: जेष्ठ नागरिक र उहाँका परिवारका ५ जना सदस्यसम्मको निःशुल्क स्वास्थ्य बिमा नगरपालिकाले गरिदिएको छ। यसले जेष्ठ नागरिक परिवारका लागि बोझ होइनन् भन्ने सन्देश दिँदै स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गरेको छ।
जेष्ठ नागरिक आरोग्य कार्यक्रम: प्रत्येक महिनाको दुई दिन प्रत्येक वडामा चिकित्सक, ल्याब र फार्मेसीसहितको टोली पुगेर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। यसमा USG (भिडियो एक्स-रे) र X-ray को समेत सुविधा दिइएको छ, जसबाट अस्पतालसम्म पुग्न नसक्ने अशक्त र अपाङ्गता भएका व्यक्तिहरूले ठूलो राहत पाएका छन्।
भ्रमण तथा सामग्री वितरण: वडागत रूपमा जेष्ठ नागरिकहरूका लागि तीर्थाटन, भ्रमण र आवश्यक दैनिक उपभोग्य तथा सहयोगी सामग्री वितरणका कार्यक्रमहरू नियमित सञ्चालन भइरहेका छन्।
जेष्ठ नागरिक सेवा केन्द्र: एक बहुआयामिक अवधारणा
नगरपालिकाले वडा नं. ४ र ६ मा कलात्मक र सुविधासम्पन्न सेवा केन्द्रहरू निर्माण गरिरहेको छ। वडा नं. ४ इन्द्रायणीमा निर्मित सेवा केन्द्रको यही पुस १३ गते बिहान ११:०० बजे उद्घाटन र स्वास्थ्य परीक्षण कार्यक्रम तय गरिएको छ। जसलाई सबै वडामा विस्तार गर्ने नगरपालिकाको लक्ष्य लिएको छ ।
यी सेवा केन्द्रका थप फाइदाहरू:
एक्लोपनको अन्त्य: जेष्ठ नागरिकहरूले आफ्ना दौंतरीहरूसँग समय बिताउन, कुराकानी गर्न र अनुभव साटासाट गर्न पाउनेछन्।
आर्थिक सक्रियता: जेष्ठ नागरिकहरू सेवा केन्द्रमा सुरक्षित रहने भएपछि परिवारका अन्य सदस्यहरू ढुक्क भएर आय-आर्जनका काममा लाग्न सक्नेछन्, जसले परिवारको आर्थिक अवस्था मजबुत बनाउँछ।
शारीरिक र मानसिक स्फूर्ति: नियमित साङ्गीतिक कार्यक्रम, भजन-कीर्तन र स्वास्थ्य जाँचले उहाँहरूलाई मानसिक रूपमा प्रसन्न र शारीरिक रूपमा सक्रिय राख्नेछ।
पुस्तान्तरणको थलो: नयाँ पुस्ताले पुराना अनुभव र सीप सिक्ने अवसर पाउनेछन्, जसले समाजमा ‘सुशान्ति’ र सद्भाव कायम गर्न मद्दत पुग्नेछ।
जेष्ठ नागरिकको सम्मान र व्यवस्थापनमा मध्यपुर थिमि नगरपालिकाले चालेका यी कदमहरू अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छन्। आउनुहोस्, हामी सबै मिलेर हाम्रा अभिभावकको ओठमा मुस्कान ल्याउन र उहाँहरूको अनुभवलाई समृद्ध नगर निर्माणमा उपयोग गरौँ।
विशेष सूचना: यही पुस १३ गते बिहान ११:०० बजे वडा नं. ४ इन्द्रायणीमा हुन गइरहेको जेष्ठ नागरिक सेवा केन्द्र उद्घाटन तथा स्वास्थ्य परीक्षण कार्यक्रममा सम्पूर्ण नगरवासी र जेष्ठ नागरिकहरूमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।



