भक्तपुरको एक दुग्ध उद्योगमा फेला पर्‍यो १०० किलो शंकास्पद पदार्थ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ जेठ । पछिल्लो समयमा नेपालमा प्राकृतिक दूधको स्थानमा नक्कली दूध तयार पारेर बजारमा बिक्री भइरहेको तथ्य बाहिरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित एक दुग्ध उद्योगमा अनुगमन गर्दा यस्तै रहस्य बाहिरिएको हो । दूध प्रशोधनमा प्रयोग हुन सक्ने शंकास्पद पदार्थ फेला पारेपछि विभागले ठूलो परिमाणमा दूध सिलबन्दी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं (साबिकको कृषि तथा पशुपन्छी विकास मन्त्रालय) तथा प्रहरी वृत्त जगातीको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका ९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा अनुगमन गरेको थियो । विभागका अनुसार अनुगमनका क्रममा उद्योगको प्रशोधन कक्षमा ९.८६ किलोग्राम ‘माल्टोडेक्सट्रीन’, ‘डेक्सट्रोज मोनोहाइड्रेट’ ५६ किलो र ३० किलो ‘बेकरी सर्टेनिङ’ बरामद गरिएको थियो ।
यस्ता पदार्थको समिश्रणबाट नक्कली दूध तयार गरी उक्त उद्योगले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) सहित बजारमा दूध बिक्री गर्दैआएको रहस्य बाहिरिएको हो ।
<span;>डीडीसीले वर्षौदेखि उक्त उद्योगबाट परीक्षण वेगर दूध खरिद गर्दैआएको थियो । यो नक्कली दूध खरिद प्रकरणमा डीडीसीका कर्मचारीको समेत मिलेमतो रहेको हुनसक्ने आशंका गरिएको छ ।

यो उद्योगले मानव स्वास्थ्यलाई नै जोखिममा पार्ने गरी यसरी नक्कली दूध तयार पारेर बिक्री गर्दै आएको थियो, त्यो थप अनुसन्धानको विषय बनेको छ । विभागका प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार ब्याच पाश्चाराइजर ट्याँकमा हालेर तयारी अवस्थामा राखिएको ३० किलो ‘बेकरी सर्टेनिङ’ जस्तो देखिने चिल्लो पदार्थसमेत अनुगमनको क्रममा फेला पारिएको थियो । अनुगमन टोलीले उद्योगभित्र रहेका तीन वटा चिलिङ भ्याटमा भरिएको दूधबाट तीन थान नमुना र पगाल्न तयारी अवस्थामा रहेको शंकास्पद चिल्लो पदार्थबाट एक थान नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको जनाएको छ ।

विभागले तीनवटै चिलिङ भ्याटमा रहेको दूध तथा बेकरी सर्टेनिङ जस्तो देखिने पदार्थ अर्को आदेश नभएसम्मका लागि सिलबन्दी गरेको छ । साथै थप अनुसन्धानका लागि उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको उल्लेख गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

खाद्य वैज्ञानिकहरूका अनुसार यी तीनै पदार्थ सामान्यतया खाद्य उद्योगमा कानुनी रूपमा प्रयोग हुने औद्योगिक सामग्री भए पनि दूधमा गैरकानूनी रूपमा मिसावट गर्न प्रयोग गरिएमा त्यसले दूधको प्राकृतिक गुण, पोषण संरचना र स्वास्थ्य सुरक्षामा गम्भीर असर पार्न सक्छ । ‘माल्टोडेक्सट्रीन’ ले रगतमा चिनीको उच्च जोखिम बढाउन सहयोग गर्छ, जसले यसलाई निक्कै घातक मानिन्छ । यस्तै, ‘डेक्सट्रोज मोनोहाइड्रेट’ ले अत्यधिक ग्लुकोजको मात्रा आपूर्ति गर्छ, यो पनि घातक नै मानिन्छ ।
त्यसैगरी, बेकरी सर्टेनिङले ट्रान्स फ्याटमार्फत मुटुरोग र रक्तनलीसम्बन्धी गम्भीर समस्या निम्त्याउन सहयोग गर्छ । यी मध्ये बेकरी सर्टेनिङ सबैभन्दा हानिकारक पदार्थको रुपमा हेरिन्छ । खाद्य विज्ञहरूका अनुसार दूधलाई कृत्रिम रुपमा गाढा बनाउन, चिल्लोपनाको उपस्थिति कृत्रिम रुपमा बढाउन, स्वाद र टेक्सचर परिवर्तन गन तथा प्राकृतिक दूधको चिल्लोपनाको सट्टा प्रशोधित बोसो सम्मिश्रण गर्न यस्ता पदार्थ मिसाउने गरिन्छ । यो एक प्रकारको कार्बोहाइड्रेट हो, जुन मकै, आलु, चामल वा गहुँको स्टार्चबाट बनाइन्छ । स्टार्चलाई ‘हाइड्रोलाइसिस’ प्रक्रियाबाट टुक्राएर सेतो पाउडर बनाइने भएकाले यो सजिलै पानीमा घुल्ने र खाद्य पदार्थलाई गाढा बनाउने गुण भएको पदार्थ मानिन्छ ।

खाद्य उद्योगमा यसलाई सस्तो ‘बल्किङ एजेन्ट’ तथा टेक्सचर सुधार गर्ने पदार्थका रूपमा प्रयोग गरिन्छ । इनर्जी ड्रिक, इन्स्ट्यान्ट सुप, आइसक्रिम, इन्फ्यान्ट फोरमुला, स्पोर्टस् सप्लिमेन्ट्स तथा विभिन्न प्रोसेस्ड फूडमा यसको प्रयोग सामान्य मानिन्छ । यसको ग्लासेमिक इन्डेक्स अत्यधिक उच्च हुने भएकाले रगतमा चिनीको मात्रा छिट्टै बढाउन सक्छ । वैज्ञानिक अध्ययनहरूले अत्यधिक प्रयोगले मधुमेह, मोटोपना तथा मेटाबोलिक डिसअर्डरको जोखिम बढाउन सक्ने देखाएका छन् । त्यसैले सीमित मात्रामा सुरक्षित मानिए पनि अत्याधिक सेवन स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ ।

यो वास्तवमा ग्लुकोजकै एक रूप हो । प्रायः मकैको स्टार्चबाट उत्पादन गरिने यो पदार्थमा एउटा पानीको अणु जोडिएको हुने भएकाले मोनोहाइड्रेट भनिन्छ । यो अत्यन्त छिटो ऊर्जा दिने, तुरुन्त पानीमा घुल्ने तथा मिठास दिने गुण भएको पदार्थ हो । सफ्ट ड्रिक, बेकरी आइटम, कन्फेक्सनरी, ओरल रिहाइड्रेसन तथा इनर्जी सप्लिमेन्ट्समा यसको प्रयोग हुन्छ । खाद्य वैज्ञानिकहरूका अनुसार यसको अत्यधिक सेवनले रक्तचिनी तीव्र रूपमा बढाउन सक्छ । मधुमेह, इन्सुलिन रेसिसटेन्स, मोटोपना तथा दाँतसम्बन्धी समस्याको जोखिम बढ्ने भएकाले चिकित्सकहरूले उच्च मात्रामा प्रयोग नगर्न सुझाव दिने गरेका छन् ।

बेकरी उद्योगमा प्रयोग हुने प्रशोधित बोसो (प्रोसेस्ड फ्याट) हो । यो प्रायः वनस्पति तेललाई हाइड्रोजेनेरेशन प्रक्रियाबाट तयार गरिन्छ ।यसले बिस्कुट, केक, पेस्ट्री, डुनट, क्रिम फिलिङङजस्ता खाद्य पदार्थलाई नरम, क्रिस्पी र लामो समयसम्म टिक्ने बनाउँछ । स्वाद र टेक्सचर सुधार गर्न यसको प्रयोग गरिन्छ ।
तर, वैज्ञानिक दृष्टिकोणले यही पदार्थलाई सबैभन्दा बढी जोखिमयुक्त मानिन्छ । हाइड्रोजेनेरेटेड सर्टनिङमा प्रायः ट्रान्स फ्याट, स्याटुरेटेड फ्याट उच्च मात्रामा पाइन्छ । विश्व स्वास्थ्य संगठनले ट्रान्स फ्याटलाई मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक बोसोको रूपमा वर्गीकृत गरेको छ ।स्वास्थ्यविज्ञका अनुसार ट्रान्स फ्याटले खराब कोलेस्ट्रोल बढाउँछ । त्यस्तै राम्रो कोलेस्ट्रोल घटाउँछ । मुटुरोगको जोखिम बढाउँछ । स्ट्रोक र डाइबेटिजको सम्भावना बढाउन सहयोग गर्छ । त्यस्तै दीर्घकालीन रूपमा रक्तनलीमा क्षति पुर्‍याउँछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...