काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिका-३२ स्थित नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ । आक्रमणमा परेर सिराहको कर्जन्हा नगरपालिका-१० घरभई नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते भएका छन् ।
साहले आक्रमणकारीलाई कारबाहीको माग गर्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन् । धारिलो हतियार प्रहारबाट पीडितको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको छ । शुक्रबार दिउँसो मामा र भाञ्जाको बिचमा झगडा हुँदा मामाले भाञ्जालाई धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जनाएको छ ।
आक्रमणमा संलग्न धनुषा घर भएर ललितपुरको टिकाथली बस्ने १८ वर्षीय अभिषेक यादव फरार छन् । अभिषेक पीडितका सहोदर मामा भएको भएको एसपी भट्टराईले जानकारी दिए । उनीहरुको बिचमा यसअघि पनि झगडा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौंमा कन्सल्टेन्सी पनि चलाउँदै आएका यादवलाई प्रहरीले खोजिरहेको छ ।


