काठमाडौं, ७ वैशाख । विभिन्न समयमा चोरी भएर विदेशका संग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र संग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ । यसै क्रममा विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय संग्रहालय, छाउनीमा राखिएको १३ औँ शताव्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता द्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले संग्रहालयको जुद्धजातीय कलाशालामा राखिएको यो मूर्ति बुझेर ल्याएको हो । संग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय संग्रहालयका संग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा संग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएको हो । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ ।
औपचारिक कार्यक्रम गरेर कार्यक्रम मनाउनुभन्दा सम्पदा दिवसका दिन प्राचीन मूल्य, धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यता स्थापित गर्ने कार्यक्रम गर्ने योजना अनुरुपमा समुदायको जिम्मेवारीमा मूर्ति पुनस्थापित गरिएको कार्यवाहक प्रमुखले प्रतिक्रिया दिइन् । ‘काठमाडौँ खुला संग्रहालय हो । यहाँ कला कौशल मात्र होइन । सांकेतिक रुपमा ज्ञान, विज्ञान र जीवनसँग सम्बन्धित शिक्षा अध्ययन पाइन्छ । यस्ता महत्वका आकृति तथा कलाकृति समाजमै राख्नुपर्छ । समुदायमै सुरक्षित हुने वातावरण बनाउनुपर्छ भनेर पुनःस्थापित गर्ने निर्णय गरेका हौँ’, उनको भनाइ छ । महानगरपालिकाको प्रतिष्ठा र पहिचानमा एउटा इटा थपिएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भने, ‘काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्येको एउटा दायित्व हो । यसप्रति हामी प्रतिवद्ध छौँ । नियमित काम गरिरहन्छौँ ।’ वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले मूर्तिको सुरक्षा र संरक्षणका लागि स्थानीय समुदाय प्रतिवद्ध रहेको बताए ।
चोरिएर लण्डन पुगेको यो मूर्ति, नेपाली दूताबास वेलायतबाट फिर्ता भएपछि पुरातत्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय संग्रहालयमा सुरक्षित राख्न पठाएको थियो ।हनुमानढोका दरवार क्षेत्रमा भएका सम्पदाहरुको संरक्षण र व्यवस्थापनका लागि २०८३ वैशाख २ गते महानगरपालिकाका कार्यवाहक प्रमुखको अध्यक्षतामा उनकै कार्यकक्षमा त्यस क्षेत्रको सम्पदा व्यवस्थापनको कानुनी दायित्व भएका कार्यालयका अधिकारी, स्थानीय र अभियानकर्ताहरुका बिच बैठक बसेको थियो । वैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, २० का अध्यक्ष राजेन्द्र मानन्धर, पुरातत्व अधिकृत देवेन्द्र भट्टराई, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका सिनियर डिभिजनल इञ्जिनियर शालिक सुवेदी, कार्यालय प्रमुख हरिप्रसाद सुवेदी, शार्दुलजंग गुल्मका सेनानी सुमितराज मल्ल, प्रहरी वृत्त, जनसेवाका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर थापासहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
बैठकले महानगरपालिकाका प्रमुखको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, सम्पदा तथा पर्यटन समितिका संयोजक, वडा नंं १९, २०, २३ र २४ का अध्यक्ष, पुरातत्व विभागका महानिर्देशक, गुठी संस्थानका प्रमुख र स्थानीय सुरक्षा निकायका कार्यालय प्रमुखहरु सदस्य रहने समिति गठन गरेको छ । यस्तै हनुमानढोका हेरचाह अड्डाका प्रमुखको संयोजकत्वमा विभिन्न कार्यालयका प्रतिनिधि, गुठियार र स्थानीय सहितको १८ सदस्यीय अध्ययन समिति गठन गरेको छ । यसमा वडा नं. १९, २०, २३ र २४ का अध्यक्षहरुलाई सल्लाहकार राखिएको छ ।
बैठकले हनुमानढोका सम्पदा क्षेत्रको गरिमा बढाउन तत्काल, अल्पकालीन र दीर्घकालीन योजनाका साथ गर्नु पर्ने काम, उपयोग र संरक्षणमा स्थानीयको सहभागिता, आगन्तुकहरुले पालना गर्नु पर्ने मर्यादा लगायत विषयमा छलफल भएको थियो । यही वैठकले महागौरी÷पार्वतीको मूर्ति फिर्ता ल्याउन वडा नं. २० का अध्यक्ष मानन्धरको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
विश्वभरि हरेक दिन मानिसहरु कुनै न कुनै संस्कार र संस्कृति चलिरहेका हुन्छन् । फरक ठाउँका प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रुपमा मनाउन हरेक बर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् बिश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ । इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (स्मारक क्षेत्रहरुको अन्तरराष्ट्रिय परिषद) ले दिवस मनाउन सुरु गरेको हो । यो सन् १९६५ मा स्थापना भएको हो । परिषद्ले सन् १९८२ मा दिवस मनाउन राखेको प्रस्ताव त्यसको १ वर्षपछि युनेस्कोले पारित गरेपछि अन्तरराष्ट्रिय रुपमा दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २०१० बाट दिवसलाई औपचारिक रुपमा मनाइन्छ ।
तस्बिर : काठमाडौं महानगरपालिका


