काठमाडौं, १६ पुस । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ९ निर्मलोडाँडामा भएको स्वास्थ्य शिविरमा पाँचसय बढी बिरामीले सेवा लिएका छन् । भक्तपुर क्यान्सर अस्पतालको मुख्य आयोजक रहेको उक्त स्वास्थ्य शिविरमा स्थानीय समाजसेवी ज्ञानकुमार राइले समन्वय गरेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा दुई हजार जनाले स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । सोमबार भएको शिविरमा ५०० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेको नेतृत्वमा डा. एलिजा श्रेष्ठ, डा.आशुतोष शाह, लगायत स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिइरहेको छ ।
उक्त शिविरमा महिलाको पाठेघरको मुखको परिक्षण गरिएको छ । पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमै पत्ता लगाउनेदेखि अल्ट्रासाउण्ड, स्तन क्यान्सरको स्क्रीनिङ गरिएको थियो । भक्तपुर क्यान्सरबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क पाठेघरको परिक्षण, स्तन परिक्षण, जनरल क्यान्सर परिक्षण तथा स्तनको अल्ट्रासाउण्ड समेत गरेको थियो । उक्त स्वास्थ्य शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।



