ललितपुर, १५ फागुन । ललितपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। बिहीबार बेलुकी साढे ८ बजे ललितपुरको गोदावरी नगरपालिका-५ सुनारटोलमा ६१ वर्षीय रण बहादुर गर्तौलालाई चितुवाले आक्रमण गरेको हो।
सोलुखुम्बु घरभई सुनारटोल बस्दै आएका उनी बेलुकी कामबाट घर फर्कँदै थिए। गोरेटो बाटोमा हिँडिरहेका उनीमाथि अकास्मात चितुवाले आक्रमण गरेको थियो। उनलाई स्थानीयले उद्धार गरेका थिए। घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका छन्। घाइते गर्तौलाको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। चितुवा मारिएकोबारे जिल्ला वन कार्यालयसँग समन्वय भइरहेको पनि ललितपुर प्रहरीले जनाएको छ।




