काठमाडौं, ८ फागुन । भन्सार छली ल्याएको ५० बोरा सुपारी सहित गाडी चालक पक्राउ परेका छन् । बिहीबार राति काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईलास्थित प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले धादिङ गल्छी गाउँपालिका-२ का २२ वर्षीय राम शरण बिसुन्केले चलाएको बा.प्र. ०२-०२५ च ०३९७ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा उक्त सुपारी फेला पारेको हो ।
प्रहरीले करिब ४ लाख रूपैयाँ बराबरको ५० बोरा (१००० किलोग्राम) भन्सार छली गरि ल्याएको सुपारी सहित बिसुन्केलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । सामान सहित गाडी चालक बिसुन्केलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको जनाएको छ।




