फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरु विभिन्न माध्यमबाट भोट माग्ने अभियानमा छन् । पुराना तथा नयाँ दलका रूपमा आएका छन् तर, केही युवा भने स्वतन्त्र उम्मेदवार भएर अघि सरेका छन् । यस्तै एक सशक्त स्वतन्त्र उम्मेदवार हुन्, व्यवस्थापन विज्ञ तथा उद्यमी डा. विजु श्रेष्ठ (PhD) । उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार हुन् ।
नाम: विजु श्रेष्ठ (PhD)
उमेरः ४० वर्ष
शिक्षा: विद्यावारिधि (PhD), व्यवस्थापनमा उच्च शिक्षा।
पेशाः व्यवस्थापन विज्ञ र उद्यमी।
सामाजिक पहिचानः अध्यक्ष, ‘विकासका लागि एकता’ (Solidarity for Development)
चुनावी मिशनः ‘आत्मनिर्भर सिन्धुपाल्चोक, स्वावलम्बी नागरिक’ “मेरो लक्ष्य सिन्धुपाल्चोकलाई NGO/INGO को परनिर्भरताबाट मुक्त गराई आफ्नै खुट्टामा उभिने बनाउनु हो। हामी सधैं दाताको मुख ताक्ने होइन, आफ्नै विज्ञता (Internal Expertise) प्रयोग गरेर विकास गर्नेछु।”
– तपाईंको निर्वाचन जिल्ला, क्षेत्र ?
मेरो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक जिल्ला, क्षेत्र नं. २ हो। यस क्षेत्रका मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल, इन्द्रावती र चौतारा साँगाचोकगढी (केही वडा) का नागरिकहरूको प्रतिनिधित्व गर्न म चुनावी मैदानमा छु।
– राजनीतिमा तपाईंको चासो किन ?
“राजनीति मेरो लागि ‘सत्ता’ वा ‘शक्ति’ प्राप्त गर्ने माध्यम होइन, बरु यो त ‘सेवा’ र ‘व्यवस्थापन’ (Management) को उच्चतम थलो हो। राजनीतिमा मेरो चासोका पछाडि मुख्यतया तीनवटा कारणहरू छन्ः
१. व्यवस्थापकीय अनुभवलाई नीतिगत तहमा पुर्याउनः मैले लामो समय अमेरिकामा व्यवसायिक व्यवस्थापन र प्राज्ञिक क्षेत्रमा ‘विद्यावारिधि’ (PhD) हासिल गरें। तर मेरो मन सधैं आफ्नै माटोमा थियो/छ । हाम्रो सिन्धुपाल्चोकमा साधन र स्रोतको कमी छैन, मात्र ‘सही व्यवस्थापन’ र ‘इमानदार भिजन’को कमी छ। मेरो व्यवस्थापकीय दक्षतालाई नीति निर्माणमा प्रयोग गरेर विकासलाई गति दिन म राजनीतिमा आएको हुँ।
२. सामाजिक संस्था मार्फत काम गर्दाका सीमाः म विगत १० वर्षदेखि ‘विकासका लागि एकता’ नामक संस्थाको अध्यक्षको रूपमा यहाँका विद्यालय र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष जोडिएको छु। हामीले ३६ वटा विद्यालयमा शैक्षिक सुधार गयौं तर संस्थागत रूपमा काम गर्दा एउटा सिमित घेरा हुने रहेछ। जबसम्म हामी ‘नीति निर्माण’ गर्ने संसदमा पुग्दैनौँ, तबसम्म समग्र जिल्लाको भाग्य बदल्न सकिँदैन भन्ने बोध भएपछि म चुनावी मैदानमा होमिएको हुँ।
३. युवा र शिक्षित पुस्ताको नेतृत्व आवश्यक देखिएरः अहिलेको पुस्ता ‘आश्वासन’ होइन ‘परिणाम’ खोजिरहेको छ। शिक्षित र देश-विदेश बुझेका युवाहरू अब ‘किनारको साक्षी’ मात्र बनेर पुग्दैन, ‘चालकको सिट’ मा बसेर नेतृत्व लिनुपर्छ भन्ने मेरो दृढ विश्वास हो।”
– तपाईंले पाउनु भएको चुनाव चिन्ह ?
मेरो चुनाव चिन्ह ‘टोपी’ (Cap) हो। यो टोपी हाम्रो नेपाली स्वाभिमानको प्रतिक मात्र होइन, यो मेरो चुनावी अभियानमा ‘बौद्धिकता’ (Intellect) र ‘श्रम’ (Labor) को सम्मान गर्ने चिन्ह पनि हो।
– तपाईंको चुनावी एजेन्डा ?
मेरा मुख्य तीनवटा एजेन्डाहरू छन्ः
१. दिगो पूर्वाधारः मेलम्ची र हेलम्बु क्षेत्रको बाढी पछिको स्थायी पुनर्निर्माण र सडक सञ्जालको स्तरोन्नति।
२. प्रविधि र शिक्षाः हाम्रो निर्वाचन क्षेत्रमा डिजिटल साक्षरता र सीपमूलक आधुनिक शिक्षाको ग्यारेन्टी।
३. युवा स्वरोजगारः कृषि र पर्यटनलाई प्रविधिसँग जोडेर युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न ‘होम-स्टे’ र साना उद्योगको प्रवर्धन।
चुनावमा होम्मिनुको उद्देश्य के ?
मेरो मुख्य उद्देश्य ‘भ्रष्टाचार मुक्त सुशासन’ र ‘नतिजामुखी विकास’ हो। म एक स्वतन्त्र उम्मेदवारको रूपमा कुनै पार्टीको दबाब बिना जनताको काम गर्न र राजनीतिमा सुद्धिकरण ल्याउन चाहन्छु।
आफ्नो निर्वाचन क्षेत्रमा हालसम्म गर्नुभएको काम ?
“मैले विगत लामो समयदेखि ‘विकासका लागि एकता’ मार्फत सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रत्यक्ष सेवा गर्दै आइरहेको छुः शैक्षिक सुधारः ३६ वटा सामुदायिक विद्यालयहरूमा ‘बहुकक्षा बहुस्तर’ (MGML) शिक्षण सिकाइ विधि सफलतापूर्वक कार्यान्वयन
क्षमता अभिवृद्धिः गत आर्थिक वर्षमा मात्रै विद्यालयहरूमा ९७ पटक स्थलगत प्राविधिक भ्रमण र शिक्षकहरूका लागि १६ वटा
कार्यशाला सञ्चालन : स्थानीय साझेदारीः इन्द्रावती गाउँपालिकासँगको सहकार्यमा थप १० विद्यालयमा शैक्षिक कार्यक्रम विस्तार।
प्रविधिमैत्री शिक्षाः मेलम्ची क्षेत्रमा ट्याबलेट मार्फत शिक्षण सिकाइ र ‘हरित विद्यालय’ को अवधारणा सुरु
स्वास्थ्य र सचेतनाः आमा समूहहरू मार्फत पोषण र सरसफाइ अभियान तथा स्वास्थ्य शिविरहरूको सञ्चालन।”
अबको योजना ?
म विद्यावारिधि हासिल गरेको व्यक्ति र सफल व्यवसायी भएकाले मेरो योजना राजनीतिमा ‘Professionalism’ ल्याउनु हो। म सांसद भएपछि सिन्धुपाल्चोकलाई ‘स्मार्ट जिल्ला’ बनाउन आफ्नो सम्पूर्ण विज्ञता लगाउनेछु।
चुनावी माहोल र कसरी भोट मागिराख्नु हुन्छ ?
अहिले स्वतन्त्र र शिक्षित उम्मेदवारप्रति जनताको ठूलो आकर्षण छ । म घर-दैलो, फेसबुक, टिकटक र भाइबर मार्फत जनतासँग जोडिएको छु। म कुनै भोजभतेर वा आश्वासनले होइन, स्पष्ट एजेन्डा र भिजन सुनाएर भोट मागिरहेको छु।
मुख्य संकल्पहरूः
१. परनिर्भरताको अन्त्यः अबको ५ वर्षमा सिन्धुपाल्चोकलाई अनुदान होइन, लगानी र उत्पादनको केन्द्र बनाउने।
२. “एक गाउँ, एक उद्योग”: प्रत्येक गाउँमा स्थानीय स्रोत अनुसारका उद्योग स्थापना गरी युवाहरूलाई गाउँमै रोजगारी दिने।
३. “एक जिल्ला, एक उत्पादन”: सिन्धुपाल्चोकका मौलिक उत्पादनको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने।
४. युवा पलायनको अन्त्यः युवाहरूलाई विदेश जानु नपर्ने गरी जिल्लामै उद्यमशील वातावरण निर्माण गर्ने।




