काठमाडौं, १५ फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै शुक्रबारदेखि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । फागुन १५ (शुक्रबार) देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।
निर्वाचनआयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।
सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन निर्देशन गरिएको छ ।




