भक्तपुर, २४ माघ । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले पत्रकारहरूले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन नहुने बताएका छन् । भक्तपुरमा शुक्रबार आयोजित रफत सञ्चार क्लबकाे वार्षिकाेत्सव कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पत्रकारहरूले देश हितमा साँचो र सत्य कुरा बोल्न सक्नुपर्ने र पत्रकारिता क्षेत्र आफ्नो कर्तव्यबाट च्युत भए देश र जनताको अहित हुने बताए ।
कार्यक्रममा उनले कुनै बेला आफूले पनि पत्रकारिता गरेको र रिर्पोटिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठीप्रहार सहनु परेको स्मरण गरे । उनले भने, ‘पत्रकारहरूले साँचो कुरा र बोल्न र लेख्न पछि पर्न हुँदैन । यदि यो कर्तव्यप्रति च्यूत भएमा देश र जनताको अहित हुन जान्छ ।’
उनले पत्रकारहरूले इमानदार भएर कर्तव्य पूरा गरेमा समाज उत्साहित हुने र समाजलाई सुदृढ गर्न सकिने बताए । अध्यक्ष बिजुक्छेंले पत्रकारहरू अध्ययनशील भएर अगाडि बढेमा समाजप्रतिको आफ्नो कर्तव्य पूरा हुने उल्लेख गरे । उनले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थिति बारे प्रकाश पारेर संसारलाई जानकारी गराएको प्रसंग सुनाए ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले पत्रकारले राजनीतिक दल र व्यक्ति विशेष हुनुभन्दा मूलुकको हितमा कलम चलाउनु पर्ने बताएका छन् । ‘पत्रकारले राजनीतिक दल विशेष, व्यक्ति विशेष गर्दा कमजोरी पो हुन्छ कि सोच्नुपर्छ,’ उनले भने ।पत्रकारहरूकै कारण भक्तपुरलाई विश्वमा चिनाउने काम भएको समेत उनले बताए ।
त्यसैगरी, राससका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झाले पत्रकारले आस्थाका आधारमा मत माग्दै हिड्न नहुने र राजनीति गर्न नहुने बताएका छन् । ‘पत्रकारलाई चुनाव जित्नु पर्दैन, मत माग्नु पर्दैन,’ उनले भने, ‘उम्मेदवार भएकाहरू पत्रकार होइन ।’
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले रफत संचार क्लब, पुरस्कृत हुने पत्रकार र व्यवसायीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । क्लबले आफ्नो वार्षिकोत्सबको अवसरमा राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, कैलाश खबरका पत्रकार विनोद विश्वकर्मा र ख्वप अस्पतालका हार्डजोर्नी विशेषज्ञ डा.मनिष प्रधानाङ्गलाई सम्मान गरेको छ भने, पर्यटन प्रर्वदनको क्षेत्रमा सेवा पुर्याउने पर्यटन व्यवसायी रामसुन्दर बके र रामजी अवाललाई सम्मान गरेको छ ।




