काठमाडौँ, २३ पुस । काठमाडौंको शंखरापुर नगरपालिका-३ मा बुधबार साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौं पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘बस दुर्घटनामा अहिलेसम्म मृतकको संख्या चार पुगेको छ । घाइते २२ जना छन् । घाइतेको उपचार भइरहेको छ ।
बुधबार साँझ शंखरापुर नगरपालिका-३ फेदी जंगलस्थित सडकमा जर्सिङपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
घाइतेहरूको शंखरापुर अस्पताल, मूलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।



