काठमाडौं, २१ पुस । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन विकास नायक-२०८२ बाट सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा महानगर प्रमुख महर्जनलाई सम्मान गरिएको हो । विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गरेबापत महर्जनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले मेयर महर्जनलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।
पुराना बस्ती र सम्पदाको संरक्षण, आधुनिक पैदलमार्ग, सुन्दर सडक, सार्वजनिक स्थल व्यवस्थापन तथा ‘स्मार्ट सिटी’ को परिकल्पना अघि सार्दै मेयर महर्जनले प्रविधिमैत्री महानगरको जग बसालेका छन् । साथै अशक्त नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा, सेवाग्राहीलाई एकद्वार सेवा प्रणाली र ललितपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न चिरीबाबले नेतृत्वदायी भूमिका समेत खेलेका छन् ।



