काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । दाहालको शुक्रबार साँझ ८७ वर्षको उमेरमा निधन भएको हो ।
शुक्रबार साँझ मैतीदेवीस्थित निवासबाट उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा उनको निधन भएको परिवारजनले जनाएका छन् । उनी दम लगायतका रोगबाट लामो समयदेखि पीडित थिए । उनकी धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् ।
लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि लडेका दाहाल पत्रकार महासंघका पूर्व सभापतिसमेत हुन् । बीपी विचारका अभियान्ता दाहाल ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहालका दुई छोरा डा सुधाम्शु दाहाल र हिमाम्सु छन् ।
पछिल्लो केही समययता भने दाहाल पार्टी राजनीतिमा सक्रिय थिएनन् । आज २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवीनजिक धोवीखोलापट्टीमा निवासमा दाहाललाई श्रद्धाञ्जली अर्पण गरेर ९:३० पछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाहसंस्कार गरिने बताइएको छ ।
वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहाल दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित थिए ।



